विलविजक भन्दा बढि सामान सहित ट्रकलाई सर्लाही प्रहरीले राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाए

सर्लाही, ११ जेठ । बिलविजक शंकाष्पद देखिदा लाखौं मूल्य बराबरको सामान बुटबलबाट मोरङ तर्फ गइरहेका मालबाहक ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि पथलैया पठाएका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवाले जारी गरेको प्रेस नोट अनुसार, आईतवार विहान ७.४५ बजेको समयमा इलाका प्रहरी कार्यालय कर्मैया बागमतीले नियमित रुपमा चेकजाँच गर्ने क्रममा रुपन्देहीको बुटबलबाट मोरङ तर्फ जाँदै गरेका प्र–३–०१–००५ ख ९४६० नम्वरको मालबाहक ट्रकलाई रोकेर चेकजाँच गर्दा जिरा पाउडर, कस्मेटिक, टायर, हेलमेट, मोटर पार्टसहरु, ब्याट्री, मेडिसिन, मेसिन, हार्डवेयर, किचेन सिंक लगायतका खुद्रा सामानहरुको प्रज्ञापन पत्र नभएको, कतिपय सामानहरुको भ्याट विल नभएको विलविजक शंकाष्पद देखिएको हुँदा उक्त मालबाहक ट्रकलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले विलविजक शंकाष्पद देखिदा करिव ४७ लाख ९७ हजार ५०१ मूल्य बराबरको सामान सहित ट्रकलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयाको जिम्मा लगाएको बताए ।