
रौतहट प्रहरीले १३३ केजी गाँजासहित कार बरामद
रौतहट, ६ साउन । रौतहटको गरुडा नगरपालिका को झाझ पुल नजिकबाट ठूलो परिमाणमा गाँजा प्रहरीले कार सहित नियन्त्रणमा लिएको छ ।रौतहटको गरुडा नगरपालिका स्थित झाझ पुल नजिककै खरघारीमा बेवारिसे अवस्थामा १३३ किलोग्राम लागुऔषध गाँजा लोड भएको कारलाई प्रहरीले मंगलवार विहान बरामद गरेको छ ।
गरुडा नगरपालिका–४ नापी कार्यालय अगाडी गौर चन्द्रपुर सडक खण्डमा ट्राफिक प्रहरी चेकजाँच गरिरहेको आज विहान साढे ८ बजेको समयमा चन्द्रपुरबाट तौर तर्फ आउदै गरेका ग। ३ च। ६८९६ नम्वरको रातो रंगको ब्रेजा कारले ट्राफिकलाई छलेर भाग्न थालेपछि प्रहरीले पछ्याउदै जाँदा झाझ पुल पारी बाटोको पश्चिम साईडमा १० फिट तल कार घरघारीमा झारेर चालक फरार भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको हो ।
प्रहरीले नियन्त्रणमा लिएका उक्त कारको डिक्कीमा प्लाष्टिकले बेरिएका १३ पोकामा लुकाई छिपाई गाँजा जस्तो देखिने पदार्थको तौल गर्दा १३३ किलोग्राम रहेको जानकारी दिदै इप्रका गरुडाका डिएसपी राजन कार्कीले चालकको खोजी कार्य जारी रहेको बताए ।
हामीलाई विशेष सूचना प्राप्त भएपछि ट्राफिक प्रहरी संग चेकजाँच थापिएका थिए । तर प्रहरीलाई हेरेपछि कारलाई नरोकी अत्याधिक गतिमा गुडाउदै उक्त स्थानमा बाटो भन्दा तल खरघारीमा खसालेर उखुखेत भएर चालक फरार भएपनि निजको निकै खोजी कार्य भईरहेको तथा चाँडै नियन्त्रणमा लिने डिएसपी कार्कीले दाबी गरे ।