
कार्यवाहक मेयर र हाकीम बीच कमिशनको खेलमा फतुवा विजयपुरका तीन विद्यालयको रकम फ्रिज
रौतहट, १७ साउन । रौतहटको फतुवा विजयपुर नगरपालिकाको कार्यवाहक नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कमिशनको चक्करका कारण तीन वटा विद्यालयको १ करोड ६५ लाख रुपैयाको काम हुन नसकी फ्रिज भएका छन् ।
फतुवा विजयपुर नगरपालिकाको वडा नम्वर ४ स्थित माध्यमिक विद्यालय टेंग्राहा, वडा नम्वर ५ स्थित आधारभुत माध्यमिक विद्यालय सन्तपुर दोस्तीया र वडा नम्वर ८ स्थित माध्यमिक विद्यालय विजयपुरका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत प्रति विद्यालय ५५ लाखको दरबाट विनियोजन गरिएका १ करोड ६५ लाख रुपैया कामै नभई फ्रिज भएका हुन् ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत प्रति विद्यालय ५५ लाख रुपैयाँका दरले गत आर्थिक वर्ष विनियोजित बजेट फ्रिज भएको नगरपालिकाका शिक्षा संयोजक सुबोध यादवले जानकारी दिए ।
उक्त तिनै विद्यालयको पूर्वाधार निर्माण, पुस्तकालय, डिजिटल सामग्री खरिद, कक्षा कोठा स्तरोन्नतिको लागि बजेट विनियोजन भएका थिए । तर भागबण्डामा प्रमुख प्रशासकीय अधिकृत भरत यादव कार्यवाहक नगरप्रमुख अम्ब्या खातुन विच कुरा नमिल्दा उक्त रकम फ्रिज भएको बताइएको छ ।
शिक्षा संयोजक यादवले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन्, “हाम्रो पालिका अन्तर्गतका तिन वटा वडाको ३ वटा विद्यालयमा निर्माण हुने भवन वापतको रकम फ्रिज भएको छ । फ्रिज गराउने जोसुकै व्यक्ति वा राजनीतिकर्मी कदापि विकासप्रेमी हुन सक्दैन । त्यस्ता व्यक्तिको कहिल्यै भलो हुँदैन ।” उनले यसरी आफनो पिडा समाजिक संजालमा पोखे ।
फतुवा विजयपुरका कार्यवाहक नगर प्रमुख खातुनका श्रीमान् महमद सेराज, प्रमुख प्रशासकीय अधिकृत भरत यादव सहितका व्यक्तिहरु बिचको भागबन्डामा भएको विवादका कारण उक्त रकम फ्रिज भएको बताइएको छ । कार्यवाह नगरप्रमुखका श्रीमान् सेराजले तीन वटै विद्यालयबाट ७ लाख रुपैयाँको दरले कमिसन लिएको उनको दाबी श्रोतले गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत भारत यादव सहित अन्य कर्मचारीहरुले हिस्सा खोज्न थालेपछि कार्यविधि जानी जानी नबनाई उक्त रकम फ्रिज गराइएको श्रोतले बतायो ।
माओवादीबाट नगरप्रमुखका प्रत्यासी अजय तिमल्सिनाले कार्यवाहक नगरप्रमुखका श्रीमान् सेराज र नगरपालिकाका हाकिमहरू कमिसनकै चक्करमा लागेर तीन वटा विद्यालयको रकम फ्रिज भएको दाबी गरे । “यो घटना सामान्य होइन, हजारौँ बालबालिकाको भविष्यसँग जोडिएको विषय भएकाले यसको सत्य तथ्य छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्छ जिकिर उनले गरे” ।
फतुवा विजयपुरका तत्कालीन मेयर गोपाल प्रसाद यादव भ्रष्टाचारको आरोपमा निर्वाचित भएका केही समय पछि नै विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर निलम्बित भएका थिए । त्यस वेला देखि उपमेयर अम्बेया खातुन कार्यवाहक मेयरको जिम्मेवारीमा रहदा आर्थिक अनियमितता बढ्दै गएका छन् । कार्यवाहक नगरप्रमुख अम्बेया एउटा रबर स्टाम्प मात्रै रहेको सम्पूर्ण काममा उनकै श्रीमान् सेराजले हस्तक्षेप गरेको आरोप लाग्दै आएको छ ।
कार्यवाहक मेयर अम्बेया खातुन र उनका श्रीमान् महमद सेराजले आफूहरूमाथि झुटा आरोप लगाइएको जिकिर गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत भारत यादव सहितका कर्मचारीका कारण विद्यालय भवन निर्माणका लागि आएको रकम फ्रिज भएको उनीहरुले बताए ।