रौतहट कारागारबाट भागेका कैदीबन्दीहरुलाई आफै उपस्थित हुनः प्रमुख जिल्ला अधिकारीको अनुरोध

रौतहट, २६ भदौं ।रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले गौर कारागारबाट भागेका कैंदीबन्दीहरु लाई आफै उपस्थित भई कारवाहीबाट जोगिन अनुरोध गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले असहज परिस्थितिको मौका छोपी कारागारबाट फरार भएका कैदीबन्दीहरु जो जहाँ भएपनि आफै उपस्थित भई राज्यलाई सहयोग गर्न सर्वसाधारण संग आग्रह गरेका हुन् ।
विभिन्न प्रकृतिका मुद्दामा जेलसजाय पाएका कैदीहरु क्रमश अदालती सजाय अनुसार कैद भुक्तान गर्न पुनः कारागारमा आउनु नत्र कसुर अनुसारको कारवाहीको डायरा बढ्ने चेतावनी दिदै अविलम्ब भागेका कैदीबन्दीहरु गौर कारागारमा आउनु पर्ने बताए ।
२९१ जना कैदीहरु मध्ये २७ जना नभागी त्यही थिए भने १७ जना भारतबाट ल्याइएको गरी अहिले सम्म ७९ जना कैदी कारागारमा रहेको हुँदा २१२ जना कैदी अझै कारागार बाहिर रहेको उनले भने ।
देशको असहज परिस्थितिमा आम नेपाली जनताहरु स्थानीय प्रहरी प्रशासनलाई सहयोग गरेर समाजमा उत्पन्न भएका त्रास एवं विभिन्न अवाञ्छित कार्यहरुलाई निष्तेज पार्नमा मद्दत पुर्याउनुपर्ने उनले आवश्यक्ता महसुस गरे ।
समग्र रुपमा रौतहटको अवस्था सुधार हुँदै गएको, सदरमुकाम सहित अन्य भेगहरुमा शान्ति रहेको तथा चन्द्रपुरमा पनि अवस्था अनुकुल बनाउन स्थानीय बासिन्दाहरुको सकदो सहयोग भईरहेको हुँदा चाँडै रौतहटको अवस्था सामान्य भई पूर्ववतः ढंगबाट शान्ति सुरक्षा स्थापित गराउनमा संयुक्त सुरक्षा फौजलाई आम नागरिकको दायित्व रहेको प्रजिअ खड्काले जिकिर गरे ।
अहिले पनि निषेधाज्ञा रहेको हुँदा स्थानीय प्रशासनद्वारा जारी भईरहेको सूचनालाई अंगिकार गरेर अत्यावश्यक काम बाहेक घरमै बस्ने उनले सुझाव दिए । तपाईहरुको गाउँ टोल छिमेकमा गौर कारागारबाट भागेर बसिरहेका कैदीबन्दीहरुको वारेमा यथेष्ट जानकारी सुरक्षा निकायमा दिई सहयोग गर्न उनले आग्रह समेत गरे ।