
व्रतालु संगै नुहाउन लाल बकैया नदीमा गएकी १० बर्षीय बालिका डुबेर मृत्यु
रौतहट, २७ भदौं । जितिया पर्वको नहायखाय अर्थात पवित्र जलाशयमा लाल बकैयामा नुहाएर चोखो खाना खाने दिन भएको हुँदा गौर नगरपालिका–६ बैजु साहको १० बर्षीया छोरी करिश्मा साह आमा संगै नुहाउने क्रममा आज विहान डुबेर वेपत्ता भएको थियो ।
बालिका डुबेर वेपत्ता भएको खवर पाउना साथ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी संगै स्थानीय गोताखोरहरुले निकै खाजी कार्य गर्दा दिउसो बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीले जानकारी दिए । फेला परेका बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको उनले बताए ।
यसैगरी गत विहिवार साथीहरु संग लालबकैया नदीमा पौडी खेल्न तथा नुहाउन गएका इशनाथ नगरपालिका–१ का १५ बर्षीय किशोर विगन साह डुबेर वेपत्ता भएका थिए । उनको शव आज विहान ८ किलोमिटर दक्षिण भारतीय क्षेत्रमा फेला परेको समेत उनले बताए ।
बन्जरहा घर भएका साह आफना ५ जना साथीहरु संग बकैया नदीमा नुहाउन हाम फाल्दा बाढीको भेलमा परेर उनी डुबेका थिए । उनका अन्य साथीबाट सकुशल निस्के तर साह वेपत्तान भएको थियो । साहको शव ल्याउन भारतीय प्रहरी संग समन्वय भईरहेको र घरका सदस्यहरु त्यस तर्फ गएको एसपी गिरीले भने ।