जेन–जी युवाको समर्थनमा सुधन गुरुङको टोली सिमरातर्फ प्रस्थान

बारा,०५ मंसिर । बाराको सिमरामा बुधबारदेखि प्रदर्शनरत जेन–जी युवालाई समर्थन गर्न सुधन गुरुङको टोली सिमरातर्फ लागेको छ। बाराको जेन–जी संयोजक सम्राट उपाध्यायका अनुसार, टोली आज सिमरा पुग्नेछ।

उपाध्यायले बताए अनुसार सुधनको टोली गाडीमा सिमरातर्फ आउँदैछ र तीन बजेसम्म जिल्ला प्रशासनसँग निर्णायक वार्ता हुनेछ। जेन–जीको मुख्य माग अरविन्द शाहको पक्राउ हुनु पहिले नै पूरा भइसकेको छ, तर अन्य व्यक्तिहरुको पक्राउ अझै बाँकी रहेको छ। अब जेन–जीहरूले आन्दोलन स्थगित गरी वार्तामा बस्ने तयारी गरिरहेका छन्।

बुधबार एमाले नेता र जेन–जी युवाबीच सिमरामा झडप भएको थियो, जसका कारण सिमरा क्षेत्रमा तीन दिनदेखि अशान्ति फैलिएको छ। प्रदर्शनकारीहरूले वीरगञ्ज–पथलैया सडकखण्डमा टायर बालेर प्रदर्शन गरे, जसमा प्रहरीले अश्रु ग्यास र हवाई फायर समेत प्रयोग गर्नुपरेको थियो।