जनताको भावना, इच्छा, आकाङ्क्षा अनुसार विकास निर्माणलाई अघि बढाएको छु ः नगर प्रमुख डा.आलम को भनाई

नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा नगर प्रमुख डा। आलमले आफु निर्वाचित भएको तीन वर्षको अवधिमा नगर अस्पताल, कृषि भवन, प्रशासनिक भवन, गौर चन्द्रनिगाहपुर सडक खण्डअन्तर्गत बम नहरको बाटो भएर नगरपालिकासम्म पुग्ने बाटो लगायतका भौतिक पूर्वाधार कार्यमा नगरपालिकाले फड्को मारेको बताउनुभयो । उहाँले भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा सकारात्मक परिवर्तनका लागि आफु कुनै कसर बाँकी नराखेको बताउनुभयो ।

नगर प्रमुख डा. राजिक आलमले आफु यस नगरपालिकाका ५४ हजार जनताको भावना, इच्छा, आकाङ्क्षा अनुसार विकास निर्माणलाई अघि बढाएको बताउनुभएको छ ।

नगरपालिकामा विभिन्न विकास परियोजनाका लागि जग्गा खरिददेखि लिएर ट्रान्स्फर्मर जडान, विद्युत पोल जडान लगायतका कार्य आफ्नो कार्यकालमा भएको बताउनुहुँदै उहाँले शिक्षालाई सशर्त बजेटमा राख्दा खोजेको जति सुधार नभएको गुनासो पोख्नुभयो । यस नगरपालिकामा विकास गर्नका लागि सबै राजनीतिक दल, सरोकारवालालाई खुला रहेको बताउनुहुँदै उहाँले विकास निर्माणका कुरामा सबैसँग सहकार्य गरेर अगाडि बढि रहेको जानकारी दिनुभयो ।

उहाँले पालिकाले खानेपानी, स्वास्थ्य लगायतको क्षेत्रमा द्रुत गतिमा कार्य गरिरहेको र उपलब्ध श्रोत साधनको अधिकतम उपयोग गरेर अगाडि बढेको बताउनुभयो । नमुना नगरपालिका बनाउनका लागि लिएको सङ्कल्प पूरा गर्नमा कुनै कसर बाँकी नराख्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरपालिकाको प्रशासनिक भवन सोमबार उद्घाटन गरिएको हो ।