लालबन्दीमा सुन चोरी काण्डको खुलासाः ज्वेलर्सका सञ्चालक सहित ४ पक्राउ

सर्लाही, ४ पुस । इलाका प्रहरी कार्यालय लालबन्दीको विशेष टोलीले घरमा भएको सुनचोरीको घटनामा संलग्न रहेको आशंकामा चारजनालाई पक्राउ गरेर कारवाही सुरु गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अुनसार, पक्राउ पर्नेमा लालबन्दी बजारका आरके ज्वेलर्सका सञ्चालक रमेश विक, साइरा ज्वेलर्सका सञ्चालक तथा लालबन्दी नगरपालिका–६ का कुमार विश्वकर्मा, धनकौल गाउँपालिका–६ की ३५ वर्षीया पिंकी देवी साह र परिवर्तित नाम ’२२ लालबन्दी ०८२÷०८३ (सी)’ रहेका हुन् ।
प्रहरी अनुसन्धानबाट गत मंसिर २३ गते लालबन्दी नगरपालिका–९ बस्तीपुरका प्रमोद कुमार लुईटेलको घरबाट चोरी भएको सुनको तिलहरी सहित अन्य गरगहना पिंकी देवी साह लगायतबाट आरके ज्वेलर्सका रमेश विक र साइरा ज्वेलर्सका कुमार विश्वकर्माले जम्मा १ लाख ४४ हजार रुपैयाँमा खरिद गरेको खुलेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राइले बताए ।
“चोरीको सामानहरु सस्तोमा किन्ने लोभमा ज्वेलर्सहरू नै संलग्न भएको पाइयो,” उनले भने । अनुसन्धानको क्रममा परिवर्तित नाम भएका व्यक्तिको कोठामा रहेका दराजको लकरबाट चोरीको तिलहरी सहित अन्य गरगहना र नगद रकम समेत बरामद भएको डिएसपी राईले जानकारी दिए ।
बरामद गरगहनाहरू पीडित प्रमोद कुमार लुईटेलले सनाखत गरेका छन् र उनले जाहेरीसमेत दर्ता गराइसकेको उनले भने ।
चारैजनालाई चोरीसम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।