रौतहट सहित तराई मधेशका जिल्लाहरुमा शीतलहर र हुस्सुको प्रभाव बढ्न थाले

रौतहट, ४ पुस । पुस महिना सुरु हुनासाथ तराई–मधेशका जिल्लाहरूमा शीतलहर र बाक्लो हुस्सुको प्रभाव बढेको छ ।
रौतहट सहित बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषा लगायतका क्षेत्रमा दिनभरि घाम नलाग्दा चिसोको कहर बढेको हो । हिजोसम्म बिहानै पारिलो घाम लाग्ने गरेकाले सामान्य कपडामै हिँडडुल गर्ने सर्वसाधारण आजबाट भने बाक्ला न्यानो लुगा लगाउन बाध्य भएका छन् ।
स्थानीयहरूका अनुसार, बिहानदेखि नै लाग्ने हुस्सुले चिसोपन अत्यधिक बढाएको छ । “घामै देखिँदैन, चिसोले हातखुट्टा कटकट खान्छ,“ ।  बजारमा मानिसको चहलपहल कम भएको छ, स्कूल जाने बालबालिका र बूढापाकाहरू घरभित्रै सीमित हुने अवस्था आएको छ ।
धेरैजसो स्थानीय आगो तापेर बस्न थालेका छन् । गरिब परिवारहरूले प्लास्टिक र झिल्लीलाई आगोमा तताएर न्यानो खोज्नुपर्ने बाध्यता छ । हरेक बर्ष जाडोयाममा तराई–मधेशमा यस्तै शीतलहर चल्छ ।
घाम नदेखिने दिनहरू लामो हुँदा कृषि काम प्रभावित हुन्छ, तरकारी बाली सुक्न थाल्छ । विगतमा चिसोकै कारण पर्याप्त न्यानो कपडा नहुनेहरूको ज्यान गएका घटना पनि छन् । यो वर्ष पनि मौसम विभागले चिसो बढ्ने चेतावनी दिएको छ ।
स्वास्थ्यकर्मीहरूले चिसोबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । चिकित्सकहरु भन्छन् “तातो झोलिलो खानेकुरा खानुहोस्, न्यानो कपडा लगाउनुहोस् र अत्यावश्यक बाहेक बाहिर ननिस्कनुहोस् । बूढा–बूढी र बालबालिकालाई बढी जोखिम हुन्छ ।”
चिसो गएरातिबाट मात्रै सुरु भएको हुँदा अझ केही दिन कायम रहने अनुमान छ । सर्वसाधारणलाई घरमै बस्न र न्यानोमा ध्यान दिन सबैले सल्लाह दिएका छन् । तराईको यस्तो जाडोको प्रकोपबाट गरिब र मजदुर वर्गलाई सबैभन्दा बढी मार पर्ने गर्दछन् ।