करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय विरुद्ध दोस्रो दिन पनि व्यापारी व्यवसायीहरुद्वारा विरोध प्रदर्शन जारी

रौतहट, ४ पुस । करदाता सेवा कार्यालय खारेज गर्ने सरकारी निर्णयको विरोधमा रौतहटका व्यापारी तथा व्यवसायीहरू आज दोस्रो दिन पनि सडकमा उत्रिएका छन् ।
रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष रवीन्द्रनाथ गोपालीको नेतृत्वमा गौर बजार पूर्ण रूपमा बन्द गर्दै सयौं प्रदर्शनकारीहरूले विभिन्न नाराबाजी गरेका हुन् । आन्दोलनले स्थानीय व्यापार र दैनिक जीवनलाई प्रभावित पारेको छ ।
प्रदर्शनकारीहरूले ’अर्थमन्त्री मुर्दावाद’, ’व्यापारी एकता जिन्दावाद’, ’आन्तरिक राजस्व कार्यालय स्थापना गर’ र ’करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय अविलम्ब फिर्ता गर’ जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका छन् ।
रौतहट उद्योग वाणिज्य संघका अनुसार, यो निर्णयले स्थानीय व्यापारीहरूलाई कर सम्बन्धी सेवा प्राप्त गर्न कठिनाइ हुने र व्यवसायमा असर पर्ने भएकाले आन्दोलन गर्न बाध्य भएको बताए । “हामीले शान्तिपूर्ण रूपमा विरोध गर्दैछौं, तर सरकारले हाम्रो माग सुनेन भने आन्दोलन चर्काउने छौं,” अध्यक्ष गोपालीले चेतावनी दिए ।
प्रशासनले सुरक्षा व्यवस्था कडा पारे पनि प्रदर्शन शान्तिपूर्ण रहेको छ । संघले सरकारलाई निर्णय फिर्ता लिन र आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गरेको छ । यदि माग पूरा नभए थप जिल्लामा आन्दोलन फैलाउने चेतावनी दिए ।