गौरमा हिन्दुवादीहरूको विरोध प्रदर्शनः बंगलादेशमा हिन्दु युवकलाई जिउँदै जलाएको घटनाको घोर निन्दा

रौतहट, ९ पुस । बंगलादेशमा हिन्दु युवक दीपू चन्द दासलाई अराजक भीडले क्रूरतापूर्वक कुटपिट गरी जिउँदै आगो लगाई हत्या गरेको घटनाको विरोधमा आज बिहान रौतहटको गौरमा हिन्दुवादी संघसंस्थाका युवाहरूले चर्को विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरूले “अल्पसंख्यकलाई बाँच्ने अधिकार सुरक्षित गर”, “अराजक एवं अपराधीहरूलाई तत्काल कारबाही गर”, “नेपाल सरकारले बंगलादेश सरकारसँग कडा विरोध दर्ज गराओस” लगायतका नारा लगाउँदै सडकमा उत्रिएका हुन् ।
उनीहरूले बंगलादेशमा हिन्दु समुदाय माथि बढ्दो हिंसा र अल्पसंख्यक विरोधी आक्रमणलाई रोक्न असक्षम रहेका बंगलादेश सरकार प्रति गम्भीर आपत्ति जनाए ।
प्रदर्शनमा सहभागी युवाहरूले यो घटनालाई “नरसंहारको निरन्तरता” को संज्ञा दिँदै बंगलादेश सरकारलाई दोषीहरूमाथि तत्काल कारबाही नगरे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने चेतावनी दिए । साथै नेपाल सरकारसँग पनि कूटनीतिक तहमा कडा कदम चाल्न माग गरे ।
स्थानीय हिन्दुवादी अभियन्ताहरु “एउटा युवकलाई जिउँदै जलाउनु भनेको मानवता माथिको ठाडो आक्रमण हो । यस्ता घटनाले हामीलाई चुप लागेर बस्न दिँदैन । हामी शान्तिपूर्ण तर दृढतापूर्वक विरोध गरिरहनेछौं ।”
प्रदर्शनकारीहरूले गौर बजार क्षेत्रमा परिक्रमा गर्दै चर्को नाराबाजी गरेर शान्तिपूर्ण रूपमा कार्यक्रमलाई समापन गरेका थिए । कुनै अप्रिय घटना हुन नदिन स्थानीय प्रहरीले सुरक्षाको राम्रो प्रबन्ध मिलाएको थियो ।
यस्तो घटनाले नेपालमा रहेका हिन्दु समुदायमा चिन्ता र आक्रोश बढाएको छ । सामाजिक सञ्जालहरुमा पनि बंगलादेशमा अल्पसंख्यक हिंसाको विरोधमा पोस्टहरू बढ्दै गएका छन् ।