
बहुदरमाईका तत्कालीन प्रशासकीय अधिकृत शरे मुस्तफा सहित ३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
रौतहट, ९ पुस । पर्साको बहादुरमाई नगरपालिकामा गोप्य ठेक्का गरेर आर्थिक हानी नोक्सानी पुर्याएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, सह लेखापाल सहित तीन जना विरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा विशेष अदालतमा दायर गरेका छन् ।
बहादुरमाई नगरपालिकामा सडक कालोपत्रेको ठेक्का प्रक्रियामा गम्भीर अनियमितता गरेको ठहर गर्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मुस्तफा, सह लेखापाल उपेन्द्रकुमार साह र स्थानीय जन प्रतिबिम्ब दैनिकका प्रकाशक तथा प्रधानसम्पादक संजयकुमार साह विरुद्ध विशेषमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर अख्तियारले गरेका हुन् ।
अभियोग पत्रमा लाभ तथा हानि पुर्याएको आरोप लगाएको छ । आर्थिक वर्ष २०८०–८१ मा बैरिया प्रवेशद्वार देखि नगरदाहाँ सम्म सडक कालोपत्रे गर्ने ठेक्का लगाउँदा आपसी मिलेमतोमा बोलपत्रको सूचना लुकाएर नजिकका व्यक्तिलाई ठेक्का दिएको आयोगको दाबी छ ।
आयोगको अनुसन्धानमा २०८० चैत २५ गते बोलपत्र आह्वानको सूचना उक्त पत्रिकाको एक प्रति मात्रमा प्रकाशित गरेको देखाइएको थियो । तर प्रेस काउन्सिल नेपालको अभिलेखमा रहेको सोही मितिको पत्रिकाको हार्डकपी र पीडीएफ दुवैमा बोलपत्रको सूचना प्रकाशित नै नभएको पाइएको जनाइएको छ । सूचना नै नछापी झुट्टा बिल–भरपाई पेस गरी ६५ हजार रुपैयाँ भुक्तानी दिएको आयोगको आरोप पत्रमा उल्लेख छ ।
आयोगले तीनै जनाविरुद्ध ६५ हजार रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय माग गरेको छ । मुस्तफा र सह लेखापाल साहलाई मुख्य कसुरदार तथा सञ्जयकुमारलाई मतियारको रूपमा कारबाही माग गरिएको छ ।