
सर्लाही, १० पुस । झण्डै साढे तीन क्युन्टल भन्दा बढि लागुऔषध ओसार पसार गरेको अवस्थाबाट फरार रहदै आएकालाई ९ महिना पछि पक्राउ परेका प्रतिबादीलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको प्रेस नोटमा सर्लाहीको लालबन्दी नगरपालिका–१४ नारायणखोलाका ३५ बर्षीय भिमबहादुर वाईवालाई इलाका प्रहरी लालबन्दीको आग्रहमा प्रहरी वृत सिंहदरबार काठमाडौंले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई बुझाएपछि जिल्ला अदालतमा पेश गर्दा पुर्पक्षका लागि मलंगवा कारागार चलान गरेका हुन् ।
गत बैशाख ३ गते राति ११ बजेको समयमा लालबन्दी नगरपालिका–११ स्थित ना २० च १७८२ नम्वरको बलेरोबाट प्रहरीले २४५ किलो २ सय ग्राम र जेठ ५ गते राति १० बजेको समयमा लालबन्दी नगरपालिका–१४ डायन खोलाको बगरमा विआर ३२ एएन ओ ८७१७ नम्वरको स्कारपिओबाट ११२.७८ किलोग्राम गाँजा प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दा चालकले उक्त गाँजा वाइवाको रहेको खुलेपछि उनी विरुद्ध लागुऔषध ओसारपसार कसुर ऐन अन्तर्गत इलाका प्रहरीले मुद्दा चलाएका थिए ।
सोही मुद्दामा सर्लाही प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका वाइवा काठमाडौंमा रहेको जानकारी प्राप्त भएपछि प्रहरी वृत सिंहदरबारको समन्वयमा पुस ७ गते काठमाडौंमा पक्राउ गरेर सर्लाही ल्याएर अदालतमा पेश गर्दा पुर्पक्षका लागि कारागार चलान गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए ।