
रौतहटका उखु किसानहरूद्वारा , चिनी उद्योगहरूको कथित ’सिन्डिकेट’ विरुद्धः आन्दोलनको घोषणा
ओमप्रकाश यादव
रौतहट, १० पुस । रौतहट जिल्लाका उखु किसानहरूले मधेश प्रदेशका चिनी उद्योगहरूले उखु खरिदमा लगाएको कथित सिन्डिकेटको विरोधमा आन्दोलन घोषणा गरेका छन् ।
किसानहरूको आरोप यो छ कि रौतहट, बारा, पर्सा र सर्लाहीका चिनी उद्योगहरूले आपसी सहमतिमा आफ्नो जिल्लाभित्रको उखु मात्र खरिद गर्ने निर्णय गरेर कथित रुपमा सेन्डिकेट खडा गरेर उखु किसानलाई पेल्न खोजेको भन्दै किसानहरु आन्दोलनको घोषणा गरेका हुन् ।
यस्तो सेन्डिकेटबाट किसानहरूलाई अन्य जिल्लाका चिनी मिलमा उखु बेच्ने स्वतन्त्रता खोसिएको भन्दै उनीहरु विरोध प्रदर्शन गर्ने नीति बनाएको बताइएको छ ।
रौतहटको एक मात्र बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज सञ्चालनमा रहेको छ, जसले किसानहरूलाई एकमात्र विकल्पमा सीमित गरेको किसानहरूको गुनासो छ । यसले किसानहरूको व्यापारिक स्वतन्त्रता कुण्ठित भएको र उद्योगीहरूको स्वार्थप्रेरित निर्णय भएको उनीहरूले गम्भीर आरोप लगाए ।
उखु किसानहरुको भेलामा भएको निर्णयहरुः
फतुवा विजयपुर नगरपालिका–९, विजयपुर बजारमा सयौं किसानहरूको भेलाबाट यस प्रकारको निर्णय गरिएका छन् ।
भेलामा सिन्डिकेट तत्काल खारेज गर्न माग गर्दै कडा आन्दोलनको चेतावनी दिइयो ।
नेपाली कांग्रेस नेता ज्ञानेन्द्र प्रसाद यादव, मेयर प्रत्यासी शिवपुजन यादव र वडा अध्यक्ष राकेश यादव (पप्पु यादव) ले किसानहरूको पक्षमा वकालत गरेका थिए ।
किसानहरूले बाबा बैजुनाथ मिललाई उखु बिक्री नगर्ने र काटिएको उखु खेतमै राख्ने निर्णय गरेका छन् ।
संघर्ष समिति गठनः
ज्ञानेन्द्र प्रसाद यादवको अध्यक्षतामा १० सदस्यीय ’उखु उत्पादक किसान संघर्ष समिति’ गठन गरेको छ । उपाध्यक्ष कुमार शिवाकोटी, सचिव राजकरण राय यादव, कोषाध्यक्ष सुरेश यादव सहितका पदाधिकारीहरुमा चयन गरिएको छ ।
पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय रौतहटमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने र माग नसुनेमा चरणबद्ध आन्दोलन गर्ने निर्णयलाई सार्वजनिक गरिएको छ ।
यस प्रकारको घोषणाबाट मधेशका उखु किसानहरूको लामो संघर्षलाई थप उजागर गरेको छ । यदि सिन्डिकेट हटेन भने ठूलो आन्दोलन हुन सक्ने चेतावनी दिएका छन् ।