
सर्लाही संवाददाता
सर्लाही, २० पुस । सर्लाहीको इश्वरपुर नगरपालिकामा वन हेरालुको विभत्स हत्या गरेर वेपत्ता पारिएका टाउको फेला परेको छ ।
इश्वरपुर नगरपालिका–२ राईटरखोर घर भएका सागरनाथ वन विकास परियोजनामा दैनिक ज्यालादारीमा रहेका वन हेरालु (चौकीदार) रामइश्वर महतोको टाउको काटेर विभत्स हत्या हिजो गरिएका थिए । तर घटनास्थलबाट उनको टाउको नभएको शव फेला परेको थियो ।
हिजो निकै खोजी कार्य गरेपनि आज विहान प्रहरी निरीक्षक नितेशकुमार सिंहको कमाण्डमा खटिएका प्रहरी टोलीले आज दिउसो पौने १ बजेको समयमा घटनास्थल देखि १०० मिटर उत्तरमा झाडीमा टाउको फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए ।
टाउको फेला परेको स्थानमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताउदै डिएसपी राईले घटनामा संलग्न रहेका आशंकामा केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएपनि सोको आधिकारिक संख्या बताउन चाहनु भएन । अनुसन्धानमा खलल पुग्ने भएको हुँदा संख्या र नाम बताउन नसकिने स्पष्ट पारे ।