मस्जिद तोडफोड र कुरान जलाएको विरुद्ध वीरगञ्जमा प्रदर्शनः प्रहरीसँग झडप, ५ राउण्ड अश्रुग्यास प्रहार

रौतहट, २० पुस । धनुषाको कमला नगरपालिका–६ सखुवा मनार गाउँमा रहेका मस्जिदमा शनिवार अज्ञात समूहले तोडफोड गरी कुरान जलाएको घटनाको विरोधमा वीरगञ्जमा मुस्लिम समुदायले प्रदर्शन गरेका छन् ।
  धनुषाको घटना प्रति वीरगञ्जका मुस्लिम समुदायका मानिसहरु आक्रोशित बन्दै मस्जिदमाथि भएको आक्रमणको विरोधमा टायर बालेर प्रदर्शन गर्दै अराजक बन्न खोजेपछि पर्सा प्रहरीलाई बल प्रयोग गर्नु परेका हुन् ।
आईतवार विहानै देखि घण्टाघर, मुर्ली, छपकैया र इदगाह चोक लगायतका क्षेत्रमा सयौं प्रदर्शनकारी सडकमा उत्रिएका छन् । उनीहरूले टायर बालेर नाराबाजी गर्दै “कुरान जलाउन पाउँदैन”, “अल्पसंख्यक माथिको दमन बन्द गर”, “मस्जिद आक्रमणकर्ता माथि कारबाही गर” र “प्रहरी तथा प्रशासन मुर्दावाद” जस्ता नारा लगाएका थिए ।
प्रदर्शनका क्रममा छपकैयाको इदगाह चोकमा प्रदर्शनकारी र प्रहरी बीच सामान्य झडप भए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड अश्रुग्यास प्रहार गरेको छ भने एक जना प्रहरी सामान्य घाइते भए पर्सा प्रहरीका सूचना अधिकारी एवं डिएसपी राजु कार्कीले बताए ।
यसैगरी, प्रदर्शनकारीहरूले छपकैया स्थित श्रीराम हल नजिकै रहेको प्रहरी बिटमा तोडफोड गरेर बिट भित्र रहेको फर्निचर, कागजात र अन्य सामग्रीहरूमा जलाएर क्षति पुर्याएको छ ।
छपकैया मदरसाका मौलाना असगर मदमीले घटनालाई धार्मिक दङ्गा भड्काउने नियतको कार्य भन्दै कडा विरोध गरे । उनले दोषीहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरे । त्यस्तै, आफूलाई नेपाल मुस्लिम समाज संघ पर्साका अध्यक्ष दाबी गर्ने महबुब अली (शेरु) ले दोषीहरूमाथि कारबाही नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए ।
यस प्रकारको घटनाले देशभर मुस्लिम समुदायमा आक्रोश फैलिएको छ भने धार्मिक सद्भावमा खलल पुग्ने खतरा बढेको भन्दै प्रशासनले सुरक्षा सतर्कता अपनाएको छ ।
हिजोको घटनाको भिडियो सामाजिक संजालमा छ्यापछ्याप्ती भएपछि वीरगञ्ज सहितका मुस्लिम समुदायमा आक्रोशलाई बढाएको बताइएका छन् ।