सर्लाहीको सीमावर्ती क्षेत्र लक्ष्मिपुरबाट ८० किलो गाजा सहित भारतीय कार नियन्त्रणमा, चालक फरार

सर्लाही संवाददाता
सर्लाही, २० पुस । सर्लाहीको सीमावर्ती क्षेत्रबाट लागुऔषध गाँजा सहित भारतीय नम्वरको कारलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका छन् ।
बलरा नगरपालिका–३ लक्ष्मीपुर गाउँ नजिक सीमावर्ती क्षेत्र भएर सीमापारी तर्फ जान लागेका बीआर ३३ पीए ३७०१ नम्वरको कारलाई सीमामा तैनाथ सशस्त्र प्रहरीले चेकजाँचको लागि रोक्न खोज्दा चालक फरार भएपछि गाडी खानललासी गर्दा लागुऔषध गाँजा जस्तै देखिने पदार्थ फेला परेपछि नियन्त्रणमा लिएका हुन् ।
आईतवार विहान करिव ३ बजेको समयमा विशेष सूचनाको आधारमा सीमा सुरक्षा गुल्म मलंगवाका डिएसपी लिलाबहादुर कार्कीको कमाण्डमा खटिएका सशस्त्र प्रहरीको टोलीलाई देख्नासाथ कार भगाउन लाग्दा विजुलीको पोलमा ठोक्किएपछि चालक कार छाडेर सीमापारी भारत तर्फ भागेको तथा बेवारिसे अवस्थामा कारलाई नियन्त्रणमा लिएको श्रोतले बतायो ।
चेकजाँच गर्दा फल्स बटन बनाएर लुकाइ राखिएको अवस्थामा ८० किलो ९ सय ग्राम गाँजा फेला परेको छ । बरामद गरिएको गाँजा र गाडीलाई नियन्त्रणमा लिएर सीमा सुरक्षा गुल्म मलंगवामा ल्याइएको ति श्रोतले बताए ।
बरामद गाँजा सहितको गाडीलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवामा बुझाउने तयारी भईरहेको बुझिएको छ ।
स्मरणीय छ की, सशस्त्र प्रहरी संग कारोवारीको सेटिंग नमिलेको हुँदा उक्त गाँजा र कार नियन्त्रणमा लिएको श्रोतको दाबी छ । लागुऔषध गाँजा दैनिक रुपमा तस्करीको माध्यमबाट भारत तर्फ गईरहेको भएपनि १० प्रतिशत कारोवारीको कुरा नमिल्दा मात्रै पक्राउ पर्ने गरेको बताइएको छ ।