
जनकपुरधाम, २१ पुस । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश हिन्दु–मुस्लिम सहित सबै समुदायको साझा घर रहेको हुँदा यहाँको विविधतामै एकताको शक्ति नै मधेस रहेकोमा सबै पक्ष संग शान्ति कायम राख्नुपर्ने अपिल गरे ।
मुख्यमन्त्री यादवले एकतामा नै मधेसको वास्तविक सामथ्र्य रहेको र विभाजनले समाज तथा राज्यलाई कमजोर बनाउने भएको हुँदा बाहिरी चलखेललाई चिर्दै आपसी भाईचारा र एकता कायम राख्न सबै पक्षको त्यतीकै दायित्व रहेको स्मरण गराए ।
पछिल्लो समय धनुषाको (जनकपुर क्षेत्र) र पर्सा (वीरगञ्ज) मा टिकटक भिडियोका कारण उत्पन्न धार्मिक तनाव, अफवाह र उत्तेजनाप्रति गम्भीर ध्यानाकर्षण भएको मुख्यमन्त्री यादवले हिंसाबाट कहिल्यै समाधान नहुने बताए । धर्मका नाममा फैलाइने घृणा र विभाजन सभ्य समाजका लागि अस्वीकार्य भएको उल्लेख गर्दै यस्ता गतिविधिले समाजलाई थप कमजोर बनाउने उनले स्पष्ट पारे ।
प्रदेश सरकार सबै नागरिकको सुरक्षा, सम्मान र समान अधिकारप्रति पूर्ण प्रतिबद्ध रहेको जनाउँदै उनले शान्ति–सुरक्षालाई थप मजबुत बनाइने जानकारी दिए । अफवाह फैलाउने र घृणात्मक गतिविधिमा संलग्नलाई कानुन बमोजिम कडा कारबाही हुने चेतावनी दिए ।
मुख्यमन्त्री यादवले सबै धर्मगुरु, राजनीतिक दल, युवा र सचेत नागरिकलाई संयम, संवाद र सहअस्तित्वको बाटो अपनाउन आग्रह गरे । समस्या संवादबाट मात्र समाधान हुने र द्वन्द्वबाट कहिल्यै नहुने उनको धारणा छ । पछिल्ला क्षति र विध्वंसप्रति खेद व्यक्त गर्दै मधेस सधैं शान्ति, सद्भाव र मानवीय मूल्यको प्रतीक बन्ने प्रतिबद्धता जनाए ।
मुख्यमन्त्री यादवलाई किन अपिल जारी गर्नुपर्यो ?
मुख्यमन्त्री यादवको बयान धनुषाको कमला नगरपालिका र जनकपुरमा टिकटक भिडियोले धार्मिक भावना आहत भएपछि सुरु भएको विवाद, मस्जिद तोडफोडको प्रयास र त्यसपछि वीरगञ्जमा भएको प्रदर्शन तथा प्रहरीसँग झडपको सन्दर्भ पछि आएको छ । वीरगञ्जमा प्रहरीले अश्रुग्यास प्रयोग गरेपछि स्थिति नियन्त्रणमा आएको छ भने प्रदेशका आठवटै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सधै शान्त रहेका मधेशमा बाहिरी चलखेल गरेर धार्मिक सदभावमा खलल पुर्याएर विदेशी घुसपैठको कारण यसप्रकारको घटना भईरहेको हुँदा मधेसको सामाजिक सद्भाव जोगाउन संवाद र संयमको आवश्यकता पुनः उजागर गरेको हुँदा समाजका अगुवाहरु शान्ति र संवादमा लाग्नुपर्ने आजको आवश्यक्ता रहेको विज्ञहरुको धारणा रहेका छन् ।