
वीरगञ्ज, २१ पुस । पर्सा सदरमुकाम वीरगञ्जमा धार्मिक तनाव उग्र रुप लिदै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साद्वारा भोली विहान ८ बजे सम्म कफ्र्यु आदेश जारी गरेको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सोमबार साँझ ६ बजेदेखि मंगलवार बिहान ८ बजेसम्म कफ्र्यु लागु गरिएको हो ।
कफ्र्यु क्षेत्र ः पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र दक्षिणमा शङ्कराचार्य गेटसम्म निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय वीरगञ्जले जनाए ।
उक्त क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन वा घेराउ पूर्ण निषेध गरिएको छ । जोखिम न्यूनीकरणका लागि सुरक्षाकर्मीले गोली चलाउन सक्ने भएकाले अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन प्रशासनले अनुरोध छ ।
अत्यावश्यक सेवाहरू (एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक, कूटनीतिक सवारी र हवाई टिकट भएका यात्रु) लाई छुट दिइएको छ । यसअघि सोमबार दिउँसो १ बजेदेखि निषेधाज्ञा लागु थियो । त्यसबाट अवस्था नियन्त्रणमा आउनु नसकेपछि कफ्र्युमा परिणत गरियो ।
तनावको कारणः
धनुषाको कमला नगरपालिकामा टिकटक भिडियोमा हिन्दु धर्मप्रति अभद्र टिप्पणी पछि मस्जिद तोडफोड भएको घटनाको विरोधमा मुस्लिम समुदायले प्रदर्शन गरेका थिए ।
निषेधाज्ञा उल्लंघन गर्दै सडकमा उत्रिएपछि आदर्शनगर, छपकैया इदगाह चौक, अलखिया चोक लगायत स्थानमा प्रहरीसँग झडप भएको थियो । प्रहरीले अश्रुग्यास प्रहार गरी दर्जनौं प्रदर्शनकारी नियन्त्रणमा लिएको छ । एक मोटरसाइकलमा आगजनी भएको छ । मुख्य चौकहरू अहिले शान्त छन् ।
प्रशासनले शान्ति कायम राख्न सहयोग गर्न र अनावश्यक भिडभाड नगर्न अपिल गरेको छ ।