
वीरगञ्ज, २१ पुस । वीरगञ्जमा जारी धार्मिक तनाव र निषेधाज्ञाबीच प्रदर्शनकारीले समाचार संकलनमा खटिएका पत्रकारमाथि आक्रमण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ पर्सा शाखाले गम्भीर ध्यानाकर्षण भई कडा नन्दा गरेको छ ।
महासंघका सचिव विजय महतोद्वारा जारी प्रेस विज्ञप्तिमा सोमबार झडपको रिपोर्टिङ गर्दै गरेका भोजपुरी टाइम्स दैनिकका कार्यकारी सम्पादक श्रवण साहमाथि भएको दुव्र्यवहारको कडा निन्दा गरिएको हो । प्रदर्शनकारीले दृश्य खिचिरहेका साहको मोबाइल खोसेर आक्रमण गरेको विज्ञप्तिमा उल्लेख छ ।
घटनालाई प्रेस स्वतन्त्रता र नागरिकको सुचित हुने अधिकारको गम्भीर उल्लंघन बताउँदै महासंघले दोषीमाथि तत्काल कानुनी कारबाहीको माग गरेको छ । साथै, प्रदर्शनकारीलाई स्वतन्त्र प्रेस विरोधी गतिविधि नगर्न चेतावनी दिए ।
महासंघले सञ्चारकर्मीलाई पनि धार्मिक प्रदर्शन सम्बन्धी समाचारमा संयम र सावधानी अपनाउन अपिल गरेको छ । पत्रकार आचारसंहिता २०७३ (संशोधन २०७६) को पालना गर्दै जाति, धर्म र समुदायबीच सद्भाव बिगार्ने सामग्री नबनाउन आग्रह गरिएको छ । केही सञ्चारकर्मीले आचारसंहिता उल्लंघन गरेको पाइएको भन्दै महासंघले त्यसलाई सूक्ष्म रूपमा हेरिरहेको जनाएको छ ।
विज्ञप्तिमा सबै पक्षलाई प्रेस स्वतन्त्रताको सम्मान गर्दै शान्तिपूर्ण अभिव्यक्ति दिन र सामाजिक सद्भाव कायम राख्न अपिल गरिएको छ ।