नेपाल–भारत रक्षा सम्बन्ध अझ मजबुत, ‘छिमेकी पहिलो नीति’ दोहोर्याउदै भारतीय रक्षामन्त्री सिंह

नयाँ दिल्ली, १ माघ — भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल र भारत बीचको द्विपक्षीय सम्बन्ध अत्यन्तै सुदृढ रहेको भन्दै सन्तुष्टि व्यक्त गरेको  छ ।
बिहीबार नयाँ दिल्लीमा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँगको भेटका क्रममा रक्षामन्त्री सिंहले दुवै देशबीच साझा हित र पारस्परिक सरोकारका विषयमा समान दृष्टिकोण रहेको उल्लेख गर्नुभएको भारतीय रक्षा मन्त्रालयले जनाएको हो ।
भेटमा रक्षामन्त्री सिंहले भारतको ‘छिमेकी पहिलो नीति’ अनुरूप नेपालसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता पुनः दोहोर्याए ।  साथै, द्विपक्षीय रक्षा सम्बन्ध, क्षेत्रीय सुरक्षा र सैन्य सहकार्यका विविध पक्षमा गहन छलफल भएको मन्त्रालयले जानकारी दिएको छ ।
रक्षामन्त्री सिंहले नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि तालिम, संयुक्त अभ्यास, कार्यशाला, सेमिनार तथा रक्षा उपकरण र भण्डार आपूर्ति लगायतका क्षेत्रमा भारतको सहयोग निरन्तर रहने स्पष्ट पारे । साथै, नेपाली सेनाका प्रधानसेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिएकोमा बधाई दिए ।
चारदिने भारत भ्रमणमा रहनुभएका प्रधानसेनापति सिग्देललाई बिहीबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुभयो । उक्त सम्मान नेपाल–भारतबीच विगत सात दशक देखि कायम रहँदै आएको परम्परात्मक कार्यको निरन्तरता मात्रै हो, जसले दुई देशका सशस्त्र सेनाबीचको गहिरो ऐतिहासिक, रणनीतिक र भावनात्मक सम्बन्धलाई झल्काउँछ ।
उल्लेखनीय छ, नोभेम्बरको तेस्रो साता भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीको नेपाल भ्रमणपछि प्रधानसेनापति सिग्देलको भारत भ्रमण भएको छ । त्यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले जनरल द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिएको थियो ।