कछुअवा पुलमा मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको र घाइते व्यक्तिको पहिचान खुल्यो

रौतहट, ३ माघ । दुर्गा भगवती गाउँपालिका स्थित कछुअवा पुलमा मोटरसाइकल दुर्घटना भएर मृत्यु भएको र गम्भीर घाइतेको पहिचान खुलेका छन् ।
गौर गंगापिपरा सडक खण्ड अन्तर्गत पर्ने दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ र ५ को बीचमा पर्ने कछुअवा पुलबाट बिआर ३० एई ५१३८ नम्बरको मोटरसाइकल शनिवार साँझ करिव साढे ५ बजेको समयमा दुर्घटना भई पुलबाट तल खसेर मृत्यु भएका भारत विहार राज्यको शिवहर जिल्लाको पिपराढी थाना अन्तर्गतको महनपुर गाउँका मिन्टु पासवानको रुपमा पहिचान खुलेका हुन् ।
उनीहरुले बोकेको मोवाइलमा परिवारजनले फोन गरेको आधारमा पुष्टि भएको प्रहरी श्रोतबाट जानकारी तराई टपलाई प्राप्त भएको छ । अर्को गम्भीर घाइते सोही गाउँका राजेश पासवान रहेको र दुबै जना मदिरा सेवन गरेर अत्याधिक तिव्रगतिमा बाईक गुडाउदा अनियन्त्रित भएर कछुअवा पुलबाट तल खस्दा उक्त दुर्घटना भएको प्रहरीले जनाए ।
प्रहरीले बाइकको ले गार्डमा झुण्डिएका झोलाबाट गोल्डेन ओके नामको मदिरा समेत बरामद गरेको छ । गम्भीर घाइते राजेशको प्रादेशिक अस्पताल गौरमा उपचार गरेर थप उपचारको लागि विरगंज तर्फ पठाइएको छ । बाईक इलाका प्रहरी कार्यालय गंगापिपरामा राखिएको तथा आवश्यक अनुसन्धान जारी रहेको बुझिएको छ ।