
फागुन २१ को निर्वाचन कार्यक्रम स्थगनको माग गर्दै देउवा पक्षद्वारा निर्वाचन आयोगमा
रौतहट, ४ माघ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन सम्बन्धी कार्यक्रम स्थगन गर्न निर्वाचन आयोगसँग माग गरेका छन् ।
विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएको विरोधमा आज सर्वोच्च अदालतमा रिट दायर गरेका देउवा पक्षका नेताहरू उक्त रिटलाई आधार बनाउँदै निर्वाचन आयोग पुगेका हुन् ।
उनीहरूले सर्वोच्च अदालतको अन्तिम फैसला नआएसम्म निर्वाचन सम्बन्धी सबै कार्यक्रम रोक्न माग गरेका छन् ।
निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार, निर्वाचन आयोगले नेपाली कांग्रेसका सम्बन्धमा गरेको निर्णय अवैधानिक, असंवैधानिक र गैरकानुनी रहेको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ ।
“सर्वोच्च अदालतले निर्णय नगरेसम्म आयोगका निर्वाचन सम्बन्धी काम कारबाही स्थगन गर्न रिटको प्रतिलिपी सहित आयोगलाई जानकारी गराएका छौं,” उनले बताए ।
देउवा पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिटमा उम्मेदवारी चयन प्रक्रिया रोक्न, निर्वाचन आयोगको निर्णय बदर गर्न तथा विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति भंग गर्न माग गरिएको छ ।