
रौतहट क्षेत्र नम्बर ३ बाट एमालेका कुन्दन कुशवाहाको मनोनयन दर्ता
आरके श्रीवास्तव,राैतहट,०६ गते माघ ।
कटहरिया । रौतहट क्षेत्र नम्बर ३ मा नेकपा एमालेको तर्फबाट कुन्दन कुशवाहाले मनोनयन दर्ता गराएका छन् । उहाँ निर्वाचन अधिकृतको कार्यालयमा दलबल सहित स्वयम् उपस्थित भई मनोनयन दर्ता गराउनुभएको हो ।
मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै कुशवाहाले यस क्षेत्रको निर्वाचन सत्य र तथ्यको लडाइँ भएको बताउनुभयो । उहाँले विदेशी हस्तक्षेप बढ्दै गएको दाबी गर्दै त्यसको विरुद्ध नेकपा एमालेको संघर्ष रहेको उल्लेख गर्नुभयो । “यो क्षेत्रमा सत्य–तथ्यको लडाइँ छ । विदेशी हस्तक्षेप बढेको छ । त्यसको विरुद्ध नेकपा एमालेको लडाइँ छ । मेरो उम्मेदवारी पनि त्यही लडाइँको हिस्सा हो,” उहाँले भन्नुभयो ।
उहाँले आफ्नो उम्मेदवारी युवाहरूको आह्वानमा अघि बढेको समेत बताउनुभयो । युवाहरूले परिवर्तन र स्वच्छ राजनीतिका लागि आफूलाई अघि सार्न आग्रह गरेकाले उम्मेदवारी दिएको उहाँको भनाइ छ ।
कुन्दन कुशवाला २०७४ सालको निर्वाचनमा मधेस प्रदेश सभामा निर्वाचित भइसकेका अनुभवी नेता हुनुहुन्छ । राजनीतिक अनुभव र क्षेत्रप्रतिको परिचयका कारण उहाँको उम्मेदवारीलाई रौतहट क्षेत्र नम्बर ३ मा अर्थपूर्ण रूपमा हेरिएको छ ।