
जनलहर देखेर केही नेता भ्रम फैलाइरहेका छन्, हट्ने होइन—डटेर लड्नेः रौतहट–३ की नेकपा उम्मेदवार पुनम यादव
रौतहट, ८ माघ । “हट्ने होइन, डटेर लड्ने नेपालीको बानी हो, समस्या सँग भाग्ने होइन, सामना गर्ने हो,” नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की रौतहट निर्वाचन क्षेत्र नं. ३ की प्रतिनिधि सभा उम्मेदवार पुनम यादवको यो उदघोष केवल नारामै सीमित छैन ।
उनीको आत्मविश्वास, आक्रामक राजनीतिक उपस्थिती र मैदानमा देखिएको जनलहरको प्रतिबिम्ब हुन् ।
पत्रकारहरूसँगको भेटघाटमा पुनम यादवले आफु विरुद्ध फैलाइँदै आएको भ्रम र अफवाह प्रति कडा प्रतिक्रिया जनाउँदै कुनै पनि प्रकारको डर, दबाब वा गलत प्रचारबाट पछि नहट्ने स्पष्ट सन्देश दिइन् । “सफलता सजिलै आउँदैन, त्यसका लागि डटेर लड्नुपर्छ,” उनले भनिन् ।
‘लडाकु सिपाही’ को दाबी
आफु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क. माधवकुमार नेपालको ‘लडाकु सिपाही’ भएको उल्लेख गर्दै पुनम यादवले जनताको सेवाका लागि राजनीतिमा आएको दाबी गरिन् ।
“म ज्यान फाल्न सक्छु, तर कसैसँग झुक्दिन, मिल्दिन,” उनको स्वरमा दृढता स्पष्ट देखिन्थ्यो । उनका अनुसार जहाँ समस्या छ, त्यही समाधान र अवसर पनि हुन्छ, र त्यसै सोचका साथ रौतहट–३ लाई अवसरको केन्द्र बनाउने लक्ष्यसहित आफू चुनावी मैदानमा उत्रिएकी हुन् ।
महिला प्रतिनिधित्वको ऐतिहासिक अवसर
लोकतान्त्रिक गणतन्त्र स्थापनापछि रौतहट–३ बाट कुनै पनि राष्ट्रिय दलले प्रतिनिधि सभाका लागि महिलालाई उम्मेदवार नबनाएको पृष्ठभूमिमा नेकपाबाट पुनम यादव पहिलो महिला उम्मेदवारका रूपमा मैदानमा उत्रिएकी छन् ।
यही क्षेत्रकी छोरी र बुहारी समेत रहेकी पुनमले राजनीतिक परिवारबाट आएको भए पनि आफ्नो छुट्टै पहिचान बनाइसकेको दाबी गरिन् ।
सामाजिक र अन्तर्राष्ट्रिय पहिचान
धार्मिक तथा सामाजिक गतिविधिमा सक्रिय पुनम यादवले भारतका विभिन्न प्रभावशाली व्यक्तित्वहरूसँगको सान्निध्य तथा मुस्लिम बहुल देश दुबईमा बाबा बागेश्वरलाई आमन्त्रण गरी चारदिने धार्मिक कार्यक्रम सफलतापूर्वक आयोजना गरेको स्मरण गरिन् । उक्त कार्यक्रमले आफूलाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको उनको भनाइ छ ।
गत ६ माघमा कटहरिया स्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्दा क्षेत्रबासीबाट पाएको माया, समर्थन र आशीर्वादले आफुलाई अझ जिम्मेवार बनाएको उनले बताइन् ।
भ्रम फैलाउने प्रयासप्रति कडा आरोप
उम्मेदवारी दर्तापछि देखिएको लोकप्रियता र जनलहरबाट आत्तिएर केही नेताहरूले भ्रम फैलाइरहेको आरोप पुनम यादवले लगाइन् ।
“केही नेताहरूले आफ्ना गोदी मिडिया मार्फत ‘प्रचण्ड र माधव नेपालले मलाई बलिको बोको बनाएका हुन्’ भन्ने भ्रम फैलाइरहेका छन्,” उनले भनिन्, “विगतमा को कससँग मिल्यो, को कससँग छुट्टियो—त्यो मेरो सरोकारको विषय होइन ।”
विकासको नाममा कठोर प्रश्न
रौतहट–३ को विकास अवस्थाबारे पुनम यादवले कडा प्रश्न उठाइन् ।
“यहाँका ठेकेदार नेता भनिनेहरूलाई सोध्न चाहन्छु—तपाईंहरूले के विकास गर्नुभयो ?” भन्दै उनले गुणस्तरीय विद्यालय र सुविधा सम्पन्न अस्पतालको अभाव औँल्याइन् ।
“हजारौँ युवा वैदेशिक रोजगारीमा खुन–पसिना बगाइरहेका छन्, के यही विकास हो?” उनको प्रतिप्रश्न थियो ।
रोजगारी र विकासको स्पष्ट एजेन्डा
अवसर पाए रौतहट–३ मा अन्तर्राष्ट्रिय लगानी भित्र्याएर ठूला उद्योग स्थापना गरी करिब १५ हजार युवालाई प्रत्यक्ष रोजगारी दिने प्रतिवद्धता पुनम यादवले व्यक्त गरिन् ।
भौतिक पूर्वाधार सँगै शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनको घोषणा छ ।
मतदातालाई अन्तिम अपिल
अन्त्यमा उनले आफ्नो उद्घोष दोहोर्याइनः
“हट्ने होइन, डटेर लड्ने नेपालीको बानी हो । म यही विश्वासका साथ जनताको सेवामा समर्पित भएर आएकी छु ।”
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा तारा छापामा मतदान गरी भारी मतका साथ विजयी गराउन उनले रौतहट–३ का मतदातासँग आग्रह गरिन् ।