रौतहट, ८ माघ । सशस्त्र प्रहरीको स्थापना भएको २५औं बर्ष (रज महोत्सव) को सुखद अवसरमा सशस्त्र प्रहरीद्वारा रौतहटमा रक्तदान गरेर भव्यताका साथ मनाइएका छन् ।
सशस्त्र प्रहरी दिवस, २०८२ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालले देशभर विविध सामाजिक तथा जनसेवामूलक कार्यक्रम सञ्चालन गरेर स्थापना दिवस भव्य रूपमा मनाएका हुन् ।
सशस्त्र प्रहरी बल, नेपाल नम्वर ११ गण रौतहटको आयोजनामा गणको प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरियो । प्रादेशिक अस्पताल गौरसंगको समन्वयमा आयोजित उक्त कार्यक्रममा गणपति एवं एसपी रामहरि अधिकारी सहित १४ जना सशस्त्र प्रहरी कर्मचारीहरूले रक्तदान गरे ।
रजत महोत्सवको अवसरमा सशस्त्र प्रहरी बल, नेपालका विभिन्न कार्यालयहरूले सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम, अस्पतालका बिरामीलाई फलफूल वितरण, स्वास्थ्य शिविर सञ्चालन, अशक्त, गरिब तथा ज्येष्ठ नागरिकलाई न्यानो कपडा र खाद्यान्न वितरण, मठमन्दिर सरसफाइ, स्थानीय समुदायमा चेतनामूलक कार्यक्रम, विद्यालयस्तरमा निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता, समकक्षी निकायसँग मैत्रीपूर्ण खेलकुद प्रतियोगिताहरु आयोजना गरेर भव्यताका साथ मनाए ।
सामाजिक उत्तरदायित्व र मानवतामूलक सेवामा प्रतिबद्ध सशस्त्र प्रहरी बल, नेपालले स्थापना दिवसलाई केवल औपचारिकतामा सीमित नराखी जनसेवा र समुदायसँगको सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा मनाउँदै आएको सशस्त्र प्रहरी वल नेपाल नम्वर ११ गणले जनाए ।