मधेस प्रदेशमा नेपाली कांग्रेसको संगठित प्रचार अभियान : आठै जिल्लामा प्रतिनिधि परिचालन, प्रचारप्रसार र सूचना डेक्स स्थापना

जनकपुर ८ गते। नेपाली कांग्रेस मधेस प्रदेश प्रचारप्रसार विभागले यही फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मधेस प्रदेशका आठै जिल्लामा पार्टी उम्मेदवारलाई विजय गराउने उद्देश्यसहित संगठित र व्यापक प्रचारप्रसार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। प्रचारप्रसार विभागको तर्फबाट प्रेस युनियन तथा प्रचार विभागका सदस्यहरूलाई प्रतिनिधिका रूपमा जिल्लाजिल्लामा खटाइने तथा प्रचार गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रचारप्रसार डेक्स स्थापना गरिने भएको छ।

प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताका अनुसार निर्वाचनलाई केन्द्रमा राख्दै प्रचारप्रसारलाई थप सशक्त बनाउन सोमबारका दिन औपचारिक परिपत्र जारी गरिनेछ। परिपत्रमार्फत प्रेस युनियनसँग आवश्यक समन्वय गरी समाचार संकलन, प्रकाशन, प्रसारण, सामाजिक सञ्जाल तथा अन्य सञ्चार माध्यममार्फत पार्टीको सन्देश एकरूपताका साथ जनतासम्म पुर्‍याइनेछ।

यसै सन्दर्भमा, नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापा मधेस प्रदेशको सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा निर्वाचन लडिरहनु भएकोले उहाँको विजय सुनिश्चित गर्न स्थानीय तहमा प्रचारप्रसारलाई अझ व्यापक र प्रभावकारी बनाइनेछ। यही उद्देश्यका साथ मधेस प्रदेश कांग्रेस सूचना डेक्स स्थापना गरिएको प्रचारप्रसार विभागले जनाएको छ।

सूचना डेक्समार्फत पार्टीका नीति, कार्यक्रम, उपलब्धि, उम्मेदवारका गतिविधि तथा चुनावी सन्देशहरू तथ्यपरक, समयमै र समन्वित रूपमा सार्वजनिक गरिनेछ। साथै, भ्रामक सूचना तथा अफवाहको तत्काल खण्डन गर्दै केन्द्र, प्रदेश र जिल्ला तहबीच सूचना आदान–प्रदानलाई तीव्र बनाइने विश्वास लिइएको छ।

 

नेपाली कांग्रेस मधेस प्रदेशले संगठनात्मक एकता, सशक्त प्रचार रणनीति र सञ्चार माध्यमसँगको प्रभावकारी सहकार्यका माध्यमबाट फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजय गराउने लक्ष्यसहित चुनावी मैदानमा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।