
परोहाको रामपुर खापमा ६८ राउण्ड टियर ग्यार प्रहार गरी अवस्था नियन्त्रणमा, शान्ति कायम राख्न प्रजिअको अपिल
रौतहट, १२ माघ । सरस्वती पुजाको मुर्ती सेलाउने क्रममा दुई समुदाय बीच विवाद उत्पन्न भई उग्र रुप लिएपछि सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु ६८ राउण्ड टियरग्यार प्रहार गरेर स्थितिलाई नियन्त्रणमा लिन सफल भएका छन् ।
रौतहटको परोहा नगरपालिका–९ रामपुरखाप गाउँमा सरस्वती पुजाको मुर्ती सेलाउन गईरहेको जुलुश र फरक समुदायका नागरिक बीच बादविवाद भई उग्र रुप लिएर झड्प हुन थालेपछि अवस्थालाई नियन्त्रणमा लिन ६८ राउण्ड टियरग्यार प्रहार गर्नु परेका हुन् ।
झड्पको क्रममा घाइते भएकाहरु उपचार पछि घर फर्किएको छ भने सुरक्षामा खटिएका केही सुरक्षाकर्मीहरु सामान्य घाइते भएको बताइएको छ । रामपुरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडा सुरक्षा व्यवस्था बनाएर शान्ति कायम गराएको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले दुबै पक्षलाई संयमित भएर समाजमा अशान्ति फैलाउने कार्यबाट बचिनुपर्ने सुझाव दिए ।
अवश्यक अनुसन्धानको क्रममा केही व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी श्रोतबाट बुझिएका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटको अपिल

परोहा नगरपालिका–९ रामपुरखाप गाउँमा सरस्वती पुजाको मुर्ती सेलाउने क्रममा स्थानीय समुदायलाई उत्तेजित बनाउने र नेपाली समुदाय बीच मनमुटावको स्थिति सृजना गर्न खोजिएको घटना प्रति जिल्ला प्रशासन कार्यालय रौतहटको गम्भीर ध्यानाकर्षण भएको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी अपिल पत्रमा, उक्त घटनाका सम्बन्धमा राजनीतिक दलको सहभागितामा स्थानीय समुदायका अगुवाहरु बीच छलफल गरेर देखिएका समस्या समाधान गरिने भएको हुँदा धार्मिक, सामाजिक र साँस्कृतिक विविधताका बीच एकता, शान्ति र सदभाव कायम गर्न गराउने तर्फ सम्पूर्ण राजनीतिक दल तथा नेतृत्ववर्ग, जनप्रतिनिधि र स्थानीय सरकार तथा सामाजिक अभियन्ता एवं संचारकर्मी, नागरिक समाज, शिक्षक, विद्यार्थी, उद्योगी, संघसंस्थाहरु सबै लाग्नुपर्ने तथा शान्ति कार्यमा सुरक्षाकर्मीलाई साथ र सहयोग दिई यस्ता धार्मिक कलेशलाई निर्मुल पार्ने कार्यमा सबै क्षेत्र सरिक हुनुपर्ने अपिल गरिएको छ ।
यसैगरी, नेपाली काँग्रेसका उम्मेदवार महम्मद फिरदोस आलम, किरण साह सहितका राजनीतिक दलका नेताहरुद्वारा छुटाछुटै अपिल जारी गरेर धार्मिक सदभाव एवं राष्ट्रिय अखण्डता विरोधी तत्वहरु संग सावधान रहेर समाजमा शान्ति एवं भाईचारा कायम गर्न गराउने कार्यमा सबै जना सक्रिय भएर लाग्नुपर्ने बताए ।