‘मधेश कांग्रेसको जन्मभूमि हो, गल्ती सच्याएर सेवा गर्न आएका छौं’ नेका सभापति गगन थापा

सर्लाही, १४ माघ । सर्लाही–४ बाट चुनावी अभियानको थालनी गरेका नेपाली काँग्रेसका सभापति गगन थापाले मधेश काँग्रेसको जन्मभुमि रहेको हुँदा विगतका गल्तिलाई सच्याएर अघि बढ्ने प्रतिबद्धता जनाए ।
यहाँ आर्थिक प्रगति, रोजगारी र मधेशको सम्मान पाँच वर्षमै बदल्छौ भन्दै सर्लाहीका जनताहरु संग उनले प्रतिबद्धता जनाएका हुन् ।
नेपाली कांग्रेसका थापाले विगतका गल्ती र कमजोरीहरू स्वीकार गर्दै त्यसलाई सुधार्ने दृढ संकल्प सहित आफू मधेशमा आएको बताए । उनले चुनावी कार्यक्रमलाई सम्बोधन मधेश कांग्रेसको जन्मभूमि एवं आधार क्षेत्रको रुपमा रहेको दाबी समेत गरे ।
सभापति थापाले चुनावपछि बन्ने पाँच वर्षे संसद्को समय अब खेर फाल्न नहुने स्पष्ट गर्दै यस अवधिलाई आर्थिक प्रगति, किसानको जीवनस्तर सुधार, बेरोजगार युवालाई रोजगारी र शिक्षा–स्वास्थ्य क्षेत्रको आमूल परिवर्तनको समय बनाउनुपर्ने बताए ।
“पाँच वर्ष कांग्रेसले सदुपयोग गर्छ, त्यसैका लागि कांग्रेस आएको हो,” उनले भने, “कांग्रेसले सबैभन्दा ठूलो शक्ति मधेशबाट प्राप्त गर्न चाहन्छ, किनकि मधेश कांग्रेसको जन्मभूमि हो । कांग्रेसलाई बनाएको, हुर्काएको र बलियो बनाएको यही माटो हो ।”
थापाले कांग्रेसबाट विगतमा मधेशका सवालमा केही कमजोरी भएको स्वीकार्दै त्यसलाई सुधार्ने प्रतिबद्धता व्यक्त गरे । मधेशको सम्मान, प्रतिनिधित्व र अधिकारका मुद्दामा अपेक्षित जिम्मेवारी पूरा गर्न नसकेको स्वीकार गर्दै उनले त्यसकै कारण नयाँ तथा मधेश केन्द्रित दलहरू उदाएको बताए ।
“मधेश कांग्रेसको जननी हो, हाम्रो आमा हो । हामी यसको जेठो छोरा हौँ,” थापाले भावनात्मक अपील गर्दै भने, “हामीले सेवा गर्नुपर्ने जिम्मेवारीमा कतै न कतै चुक गर्यौ, त्यसलाई सच्याउन आज कांग्रेस यही मधेशमा होमिएको छ ।”
उनले सर्लाहीका चारै निर्वाचन क्षेत्रसहित मधेशका ३२ वटै निर्वाचन क्षेत्रबाट कांग्रेस उम्मेदवारलाई समर्थन गर्न आग्रह गर्दै त्यसको बदलामा कांग्रेसले आगामी पाँच वर्ष देश र मधेशको सेवा गर्ने जिम्मेवारी पूरा गर्ने दाबी गरे ।
युवा नेता थापाले कांग्रेसले मधेशको माग पूरा गर्ने स्पष्ट संकल्पका साथ चुनावी मैदानमा उत्रिएको उल्लेख गर्दै यो सन्देश घर–घरमा पुर्याउन कार्यकर्तालाई निर्देशन समेत दिए ।