बारामा आमा–छोराको नृशंस हत्या, बुहारी सहित दुई जना प्रहरी नियन्त्रणमा

बारा, १४ माघ । धारिलो हतियार प्रहार गरेर आमा छोराको हत्या गर्ने बुहारीलाई बारा प्रहरीले नियन्त्रण लिएको छ ।
बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा धारिलो हतियार प्रहार गरेर आमा छोराको नृशंस हत्या हुँदा उक्त क्षेत्र स्तब्ध बनेपछि घटनामा बुहारी सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर सुक्ष्म अनुसन्धान सुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरका अनुसार अनुसन्धानका क्रममा मृतक रामेश्वर मण्डलकी अन्दाजी २५ वर्षीया श्रीमती मनिता देवी मण्डललाई नियन्त्रणमा लिइएर अनुसन्धान भईरहेको छ ।
आज बिहान करिब ३ बजेको समयमा अज्ञात व्यक्तिले घरमा प्रवेश गरेर धारिलो हतियार प्रयोग गरी ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २८ वर्षीय छोरा रामेश्वर मण्डलको विभत्स हत्या गरे ।
उक्त घटनामा मृतक रामेश्वरका ५२ वर्षीय बुवा जगरुप मण्डल तथा २२ वर्षीया बहिनी रिना कुमारी मण्डल गम्भीर घाइते भएका छन् । घाइते दुवै जनाको परवानीपुर स्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताए ।
घटनाको प्रकृति अत्यन्तै शंकास्पद देखिएकोमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ । उक्त घटनामा अर्का एक युवकलाई पक्राउ गरिएको छ । पक्राउ परेका युवक माघ १२ गते मात्रै दुबईबाट नेपाल आएको बुझिएको छ ।
दुबईको शारजाह विमानस्थलबाट काठमाडौं ओर्लिए लगत्तै ती युवक बारा आएका थिए । त्यसपछि बुहारीकै मिलेमतो र योजना अनुसार आमाछोराको हत्या भएको आशंका प्रहरीले गरेको एसपी कुँवरले बताए ।
‘बुहारीसँग ती विदेशबाट आएका युवकको विवाहत्तेर सम्बन्ध रहेको बुझिएको छ । यसबारे परिवारमा थाहा भएपछि पारिवारिक कलह सुरु भएपछि योजनाबद्ध रुपमा हत्या गरेको भएको आशंका प्रहरीले गरेका छन् ।