सशस्त्र प्रहरीद्वारा गोदाममा छापा, व्यापारीसँग झडप ढुङ्गामुढा, प्रहरी घाइते, सरकारी गाडी तोडफोड

वीरगञ्ज, २६ माघ । व्यापारिक नगरी वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित एक व्यावसायिक गोदाममा सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा मारेपछि स्थिति तनावग्रस्त बनेको छ ।
राजस्व छलीको आशंकामा गरिएको छापामारीका क्रममा व्यापारी र सुरक्षाकर्मीबिच झडप हुँदा सशस्त्र प्रहरीका कर्मचारी घाइते भएका छन् भने सरकारी गाडीमा समेत तोडफोड भएको हो ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल १३ नम्वर गढा र भन्सार कार्यालयको संयुक्त सुरक्षा टोलीले आदर्शनगर स्थित मदन प्रसाद गुप्ताको घरमा अवैध रूपमा भण्डारण गरी राखिएको कपडामाथि सोमबार  छापा मारिएको छ । छापाका क्रममा करिब पाँच लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको पाँच पोका कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाए ।
भन्सार छलीका कपडा बरामदपछि स्थिति तनावपूर्ण बन्दै जाँदा आक्रोशित व्यापारी तथा तस्कर समूहले सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए । झडपका क्रममा सशस्त्र प्रहरीको प्रयोगमा रहेका एक वानटन र एक स्कार्पियो गाडीको सिसा फुटेको छ ।
सशस्त्र प्रहरीका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार ढुङ्गा प्रहारबाट तीन जना सशस्त्र प्रहरी सामान्य घाइते भएको मिडिया रिपोर्टमा उल्लेख गरिएका छ । घाइतेको अवस्था खतरामुक्त रहेको र उनीहरूको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल तथा वीरगञ्ज भन्सारमा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) विकास अधिकारीले गोदाम खानतलासी गर्ने क्रममा स्थानीय व्यापारीहरूले विरोध जनाएपछि झडप सुरु भएको बताए ।
तर व्यापारीहरूले भने आफूहरूसँग सामानको वैद्य बिलबिजक रहेको दाबी गर्दै विना कारण दुःख दिइएको आरोप लगाए । वैद्य कागजात देखाउँदा समेत सामान नियन्त्रणमा लिन खोजिएपछि स्थिति बिग्रिएको उनीहरूको भनाइ छ ।
बरामद गरिएको कपडा वीरगञ्ज भन्सार कार्यालयको जिम्मा लगाइएको छ । घटनापछि आदर्शनगर क्षेत्रमा सुरक्षा सतर्कता कडा पारिएको छ । सशस्त्र प्रहरी बल नेपालले घटनामा संलग्न दोषीको पहिचान गरी कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।