
निर्वाचनलाई मध्यनजर राख्दै रौतहटमा कडा सुरक्षा योजनाः सेना–प्रहरी–सशस्त्रको संयुक्त गस्ती सुरु
रौतहट, २७ माघ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई पूर्ण रूपमा शान्तिपूर्ण, मर्यादित र धाँधलीरहित रूपमा सम्पन्न गराउन रौतहटमा सुरक्षा व्यवस्था उच्च सतर्कतामा अपनाइएको छ ।
निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती जिल्लाका संवेदनशील क्षेत्रहरूमा सुरु गरिएको हो ।
कुनै पनि प्रकारको अवाञ्छित गतिविधि, डर–त्रास, धम्की वा निर्वाचन आचारसंहिता उलंघन हुन नदिन जिल्ला सुरक्षा समिति अत्यन्तै चनाखो र गम्भीर रहेको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेससागर भुसालको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरूले नियमित रूपमा मदतान स्थल र मतदान केन्द्र सहितका अति सम्वेदनशिल स्थानहरुमा अनुगमन कार्यलाई तिव्र बनाएका छन् । सुरक्षा संयन्त्रले निर्वाचन प्रक्रियामा खलल पुर्याउने प्रयासहरूलाई सूक्ष्म निगरानीमा राख्दै कडा नियन्त्रण गर्ने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार मतदाताहरु भयरहित वातावरणमा मतदान गर्न सकुन् भन्ने उद्देश्यले २४ सै घण्टा गस्ती, चेकजाँच तथा निगरानीलाई तीव्र बनाइएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन कुनै पनि सम्झौता नहुने प्रशासनको स्पष्ट सन्देश दिएको छ ।