भ्रष्ट र लुटेराविरुद्ध राम्रा मान्छेहरु एकजुट हुनुपर्छ’—रौतहटमा आजपा अध्यक्ष प्रभु साहको आह्वान

रौतहट, २७ माघ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्टाचार, लुटतन्त्र र दलालीको अन्त्यका लागि विभिन्न पार्टीमा रहेका राम्रा मान्छेहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।
उनले हरेक पार्टीमा राम्रा र नराम्रा दुवै खालका व्यक्ति हुने उल्लेख गर्दै भ्रष्टाचारी र लुटेराहरूलाई कारबाही गर्न राम्रा मान्छेहरू एकीकृत हुन जरुरी रहेको बताएका हुन् ।
रौतहट निर्वाचन क्षेत्र नम्वर ३ का गुजरा नगरपालिका–८ जुगौलियामा आयोजित चुनावी छलफल तथा भेटघाट कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेकालाई आजपामा प्रवेश गराउँदै उम्मेदवार समेत रहेका साहले यस्तो धारणा व्यक्त गरे ।
“सबैतिर राम्रा र नराम्रा मान्छेहरू छन् तर भ्रष्टाचारी, दलाल र लुटेरा विरुद्ध कारबाही गर्न, समाज परिवर्तन गर्न र विकासका काम अगाडि बढाउन राम्रा मान्छेहरू एकजुट हुनैपर्ने अपिल गरे । भ्रष्ट, दलाल र लुटेरालाई बहिष्कार गर्नु पर्ने आवश्यक्ता हो ।”
राम्रा मान्छेहरू एक ठाउँमा नआएसम्म समाज परिवर्तन सम्भव नहुने बताउँदै उनले जिल्लाको विकास, समृद्धि तथा जनताको चाहना अनुसार शिक्षा, स्वास्थ्य, यातायात र खानेपानी जस्ता आधारभूत क्षेत्रको विकासका लागि सबै पार्टीमा रहेका असल व्यक्तिहरू आजपामा गोलबद्ध हुन आग्रह गरे ।
अध्यक्ष साहले यो निर्वाचनलाई असली र नक्कलीबीचको लडाइँको संज्ञा दिँदै भने, “यो निर्वाचन जेनजी आन्दोलनका हत्यारा, हाइज्याकर र भ्रष्टाचारी विरुद्धको लडाइँ हो । समाजविरोधी र मुलुक विरोधी शक्तिलाई यसै निर्वाचन मार्फत परास्त गर्नुपर्छ ।”
जुगौलियामा आयोजित भेटघाट कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै दर्जनौँ व्यक्तिहरू आजपामा प्रवेश गरेको आजपा सचिवालय सदस्य तथा समानुपातिकतर्फका उम्मेदवार लालबाबु मन्सुरीले जानकारी दिए ।
कार्यक्रममा ग्यानु सिंह, सुधिर सिंह, रामएकबाल साह, शेख नुरसैद, शेख जमिल अख्तर लगायतका व्यक्तिहरूलाई अध्यक्ष साहले पार्टीमा स्वागत गर्दै प्रवेश गराएका थिए ।