नेपाल नेत्र ज्योति संघको ४८ औं बार्षिकोत्सव भव्यताका साथ गौरमा मनाइयो

रौतहट, १३ चैत । ४८ औं नेपाल नेत्र ज्योती संघ दिवस भव्यताका साथ शुक्रवार गौरमा मनाइयो ।
नेपाल नेत्र ज्योती संघले ४७ बर्ष पुरा गरेर ४८ औं बर्षमा प्रवेश गरेको सुखद अवसरमा नेपाल नेत्र ज्याति संघद्वारा संचालित गौर आँखा अस्पतालको आयोजनामा आज विहान गौरमा प्रभात फेरी निकालेर नगरमा परिक्रमा गरिएको हो ।
आँखा अस्पतालका चिकित्सक सहित विभिन्न तहका कर्मचारी, नेत्र ज्योती संघका आजीवन सदस्य, स्थानीय बुद्धिजीवी र नागरिक अगुवा, संचारकर्मीहरूको उपस्थितिमा आयोजित कार्यक्रमले स्थानीय स्तरमा जनचेतना जगाएको छ ।
कार्यक्रम बिहान गौर घण्टाघर चोकबाट नेपाल नेत्र ज्योति संघ रौतहटका अध्यक्ष विजयकुमार सिंहको नेतृत्वमा सुरु भएको प्रभात फेरी धरखन चोक, नेपाल लज, ट्रान्समिटर चोक भएर गौर भन्सार र क्रान्तिद्धारबाट फर्केर राईस मिल्समा समापन भए ।
समापन समारोहमा गौर आँखा अस्पतालका प्रशासन प्रमुख नागेश्वर चौधरीले नेपाल नेत्र ज्योती संघको स्थापना देखि लिएर अहिले सम्म भएका कार्यहरु बारे प्रकाश पारेका थिए । संघका अध्यक्ष सिंहले बार्षिकोत्सव कार्यक्रममा सहभागी भएर आँखाको दृष्टिलाई सहि तवरबाट राख्न जनचेतना फैलाउने कार्यमा सहयोग पुर्याउने अस्पतालका कर्मचारी देखि लिएर स्थानीय समाजसेवी, आजिवन सदस्य, राजनीतिक दलका प्रतिनिधि तथा संचारकर्मीहरुलाई धन्यवाद दिए ।
उक्त कार्यक्रममा अस्पतालका अध्यक्ष विजय कुमार सिंह, शाखाका सचिव बच्चा प्रसाद यादव, नेत्र रोग विशेषज्ञ डा. मनोज कुमार साह, अस्पताल प्रशासक नागेश्वर प्रसाद चौधरी, दृष्टि विशेषज्ञ मदन चौधरी, नेत्र अधिकृत शिव कुमार यादव, पूनम यादव लगायत कर्मचारी, पदाधिकारी पूर्व अध्यक्ष दुर्गा प्रसाद यादव लगायत पदाधिकारीहरूको पनि उपस्थिति थियो ।
कार्यक्रममा सहभागीहरूले “आँखा दान महादान” लगायतका नाराहरू लगाउँदै स्थानीय स्तरमा आँखा सम्बन्धी जनचेतना फैलाउने प्रयास गरेका थिए ।
संघका सचिव बच्चा यादवका अनुसार यस किसिमका कार्यक्रमले आँखा सम्बन्धी स्वास्थ्य र समाजिक जागरूकतामा ठूलो योगदान पुर्याएको छ ।