बारा संग जोडिएका भारतीय सीमामा कडाइः मदिरा र गोरु सहित दुई तस्करी एसएसबीको फन्दामा

रौतहट, १४ चैत । बारा जिल्लाको भारत संग जोडिएका सीमानाकामा सशस्त्र सीमा बल (एसएसबी) ले निगरानी बढाएपछि तस्करी कार्यलाई नियन्त्रणको प्रयास गरिएको छ ।
नेपाल–भारत सीमामा अवैध गतिविधि विरुद्ध सुरक्षाकर्मीले कडाइ बढाउँदा मदिरा तथा गोरु तस्करीका दुई अलग–अलग प्रयासलाई असफल बनाएको हो ।
दुवै घटनामा गरी दुई जना मानिसलाई पक्राउ गरिएको छ भने ठूलो परिमाणमा मदिरा र दुई वटा गोरु बरामद गरिएको छ ।
सशस्त्र सीमा बल (एसएसबी) का ७१ औ बटालियन पिपराकोठिका सहायक कमाण्डेन्ट बिश्वजित तिवारीका अनुसार गोप्य सूचनाको आधारमा शुक्रबार राति करिब ९ः३० बजे समयमा बरहडवा र प्रहरी चौकी जितना बीचको समन्वयमा गरिएको संयुक्त नाका खडा गरेर उक्त सफलता प्राप्त भएको जनाइएको छ ।
सोही निगरानीका क्रममा सीमा स्तम्भ नम्बर ३६७–०२ नजिक, भारततर्फ करिब ४०० मिटर भित्र पर्ने बरेला गाउँ आसपास मध्यराति १२ः३५ बजेतिर नेपालबाट सामान बोकेर आउँदै गरेका केही व्यक्ति देखिएका थिए । शंका लागेपछि सुरक्षाकर्मीले रोकिन आदेश दिए पनि उनीहरू सामान फालेर भाग्न खोजे ।
भाग्दै गरेका ति व्यक्तिलाई लखेट्ने क्रममा एक जनालाई नियन्त्रणमा लिन सफल भएको र अन्य व्यक्ति अँध्यारोको मौका छोप्दै नेपालतर्फ फरार भएको जनाइएको छ ।
पक्राउ पर्नेमा बिहारको पूर्वी चम्पारण जिल्ला अन्तर्गत बेला जितपुरका सुधांशु शर्मा रहेको छ । घटनास्थलमा फालिएका सामानको जाँच गर्दा जुटको ६ वटा बोराभित्र ‘कस्तुरी (निम्बु फ्रेश)’ ब्रान्डका ३०० एमएलका ५८० बोतल, अर्थात् करिब १७४ लिटर मदिरा फेला परेको एसएसबीले जनाए ।
बरामद मदिरा नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको छ भने पक्राउ परेकालाई थप अनुसन्धानका लागि प्रहरी चौकी जितनामा बुझाइएको छ ।
यसैबीच, अर्काे अपरेशनमा गोरु तस्करी पनि विफल पारिएको छ । मोतिहारी स्थित ७१ बटालियनबाट प्राप्त सूचनाका आधारमा महुवा क्षेत्रको गस्ती टोलीले सीमा स्तम्भ नम्बर ३७५–११ नजिकबाट दुई वटा गोरुसहित एक जनालाई नियन्त्रणमा लिएको बताइएको छ ।
एसएसबीका प्रवक्ता बिनित कुमार सिंहका अनुसार पक्राउ पर्नेमा पूर्वी चम्पारणको मसाही गाउँका मोहम्मद साबिर रहेका छन् । प्रारम्भिक अनुसन्धानले ती गोरुहरू नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको देखाएको छ ।
बरामद गोरु तथा पक्राउ परेकालाई आवश्यक प्रक्रिया पूरा गरी महुवा प्रहरी चौकीमा बुझाइएको एसएसबीले जनाए ।