देउवा परिवारको सम्पत्तिमाथि सम्पत्ती शुद्धिकरणमा छानबिन तीव्रः बूढानीलकण्ठ निवास भत्काउनमा प्रहरीको रोक

रौतहट, १५ चैत । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका परिवारको सम्पत्ति माथि सरकारले अनुसन्धान अघि बढाएको छ ।
सोही क्रममा देउवा र उनका परिवारका सदस्यहरूको विस्तृत सम्पत्ति विवरण संकलन गरिएको स्रोतले जनाएको हो ।
प्रमाण नष्ट हुनसक्ने आशंकाका बीच बूढानीलकण्ठ स्थित देउवा निवास परिसरमा भइरहेको घर भत्काउने काममा प्रहरीले तत्कालका लागि रोक लगाएको छ । अनुसन्धानलाई प्रभावित पार्ने जोखिम देखिए पछि उच्चस्तरीय निर्देशनमा उक्त निर्णय गरिएको जनाइएको हो ।
सत्ताको आडमा अस्वाभाविक तथा गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा यसअघि नै देउवा परिवारविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो । सोही उजुरी र संकलित प्रमाणका आधारमा छानबिनलाई तीव्र बनाइएको छ ।
स्रोतका अनुसार पछिल्लो एक–डेढ वर्षमा जयवीर देउवा र उनका नजिकका आफन्तका नाममा करिब ७३ रोपनी जग्गा खरिद गरिएको विवरण समेत अनुसन्धानको दायरामा ल्याइएको छ । साथै प्रदीप शम्सेर जबरा र भुषण राणा लगायतबाट भएका आर्थिक कारोबारको विवरण पनि संकलन भइरहेको बझिएको छ ।
यसैगरी आरजु राणा देउवा सँग जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरण तथा नेपाल टेलिकम को बिलिङ अनियमितता सँग सम्बन्धित विवादास्पद निर्णय पछिका आर्थिक गतिविधि माथि समेत छानबिन भइरहेको स्रोतको दाबी छ ।
बूढानीलकण्ठ स्थित एउटै कम्पाउण्ड भित्र बनेका दुई बंगला सम्बन्धी उजुरीसमेत अनुसन्धानकै दायरामा रहेको छ । पछिल्लो समय ‘जेनजी आन्दोलन’ का क्रममा उक्त निवासमा आक्रमण र आगजनी भएपछि क्षतिग्रस्त भवन भत्काउने काम सुरु गरिएको थियो । तर, प्रमाण नष्ट हुनसक्ने जोखिमका कारण प्रहरीले हस्तक्षेप गर्दै तत्कालका लागि रोक लगाएको बुझिएको छ ।