
सेवाग्राहीको चाप बढ्दै जाँदा प्रमुख जिल्ला अधिकारी भुसाल ,स्वयं फाँटमा सेवा प्रवाहमा सुधार
रौतहट, २५ चैत । जिल्ला प्रशासन कार्यालय रौतहटमा पछिल्लो समय सेवाग्राहीको चाप बढ्दै जाँदा नागरिकता फाँटमा अत्यधिक भीडभाड देखिएपछि प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसाल स्वयं फाँटमा खटिएर सेवा प्रवाहलाई व्यवस्थित बनाउनमा सक्रिय भएका छन् ।
कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सेवाग्राहीको उच्च उपस्थिति देखिए पछि सेवामा कुनै अवरोध वा असहजता नहोस् भन्ने उद्देश्यले प्रजिअ भुसालले प्रत्यक्ष रूपमा सेवाग्राहीसँग समन्वय गर्दै सहजीकरण गर्नमा सक्रिय रहेका हुन् ।
उनको उपस्थितिले नागरिकता फाँटमा देखिएको अव्यवस्था नियन्त्रणमा आउनुका साथै सेवाग्राहीलाई छिटो र सहज रूपमा सेवा प्राप्त हुन थालेको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासन शाखा प्रमुख रामनरेश साहका अनुसार सेवाग्राहीलाई सन्तुष्ट बनाएर फर्काउने उद्देश्यले प्रजिअ स्वयं फाँटमा बसेर काम गरिरहनु भएको छ । “सेवा लिन आउने नागरिकलाई कुनै समस्या नहोस् भन्ने हिसाबले उहाँले प्रत्यक्ष निगरानी र सहजीकरण गरिरहनु भएको छ,” उनले बताए ।
प्रजिअको सक्रियता प्रति सेवाग्राहीहरूले सकारात्मक प्रतिक्रिया जनाउँदै यसले सेवा प्रवाहमा सुधार आएको बताए । प्रशासनको यस प्रकारको पहलबाट सरकारी सेवाप्रति नागरिकको विश्वास बढ्ने अपेक्षा गरिएको छ