
अकुत सम्पत्ती राखेको अभियोगमा देउवा दम्पतीविरुद्ध जिल्ला अदालत काठमाडौद्धारा पक्राउ पुर्जी जारी
रौतहट, २५ चैत । पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र उनको श्रीमती डा. आरजु देउवा विरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा सम्पत्ती सुद्धिकरण विभागले उनीहरूको सम्पत्तिको स्रोत र वैधता माथि विस्तृत अनुसन्धान गरिरहेको अवस्थामा अदालतबाट पक्राउ गर्न अनुमति लिएको उच्च स्रोतले जनाएको हो ।
लामो समयदेखि चर्चामा रहेको मुद्दाले अब कानुनी रूप लिँदै जाँदा राजनीतिक वृतमा बहस थप चर्किदै गएको छ ।
हाल देउवा दम्पती विदेशमा रहेको जनाइएको छ, जसका कारण तत्काल नियन्त्रणमा लिन सुरक्षानिकायलाई प्राविधिक चुनौती देखिएको छ । यद्यपि, उनीहरू स्वदेश फर्किए लगत्तै आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको अधिकारीहरूको कथन छ ।
भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणविरुद्ध सरकारको सक्रियता बढिरहेका बेला मुलुकको प्रमुख राजनीतिक दल नेपाली काँग्रेसका शीर्ष नेतृत्व नै अनुसन्धानको घेरामा पर्नुले सत्ता समीकरण र राजनीतिक स्थिरतामा प्रभाव पार्ने विश्लेषण गरिएको छ ।
पक्राउ पुर्जी सार्वजनिक भएसँगै सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म मिश्रित प्रतिक्रिया देखिएको छ । केहीले यसलाई विधिको शासन सुदृढ बनाउने सकारात्मक कदमका रूपमा लिएका छन् भने अन्यले यसलाई राजनीतिक प्रतिशोधको कोणबाट पनि हेर्न थालेको हो ।
सम्पत्ति शुद्धीकरण विभागले भने प्रमाण र अनुसन्धानका आधारमा नै अदालतबाट अनुमति लिइएको दाबी गर्दै कानुन अनुसार प्रक्रिया अघि बढाइने स्पष्ट पारे । देउवा दम्पतीको अनुपस्थितिमा अघि बढेको यस प्रकरणले आगामी दिनमा उनीहरूको राजनीतिक भविष्य र पार्टीभित्रको शक्ति सन्तुलनमा कस्तो असर पार्नेछ त्यो आउदो दिनमा हेरिने छन् ।