
अवैध भारतीय बोइलर कुखुरा नियन्त्रणमा , सशस्त्र प्रहरीद्वारा नष्ट
रौतहट, ४ वैशाख । रौतहटका विभिन्न सीमाक्षेत्रबाट अवैध रूपमा भित्रयाउदै गरेका भारतीय बोइलर कुखुरा सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएर नष्ट गरेको छ ।
सीमा सुरक्षा गुल्म गौरबाट खटिएको चेकपोस्ट टोलीले गौर नगरपालिका–१ कानुपट्टी स्थित मुख्य सीमा स्तम्भ नम्बर ३४४ नजिकबाट अवैध कुखुरा नियन्त्रणमा लिएको हो ।
यसैगरी विओपी सरमुजवाबाट खटिएको टोलीले परोहा नगरपालिका–८ नरकटिया क्षेत्रमा सानो सीमा स्तम्भ नम्बर ३५५–२ नजिक भारतबाट नेपालतर्फ ल्याइँदै गरेको कुखुरा बरामद गरेको जनाए ।
बरामद गरिएको ५४ वटा (१८६ केजी) बोइलर कुखुरा स्थानीय जनप्रतिनिधि र गौर भन्सार कार्यालयको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरीले बताए ।
सीमाक्षेत्रबाट हुने अवैध रूपमा पशुपन्छी भित्रयाउने क्रम बढेपछि निगरानी कडा पारिएको र यस्ता गतिविधि विरुद्ध निरन्तर कारबाही जारी रहेको सशस्त्र सीमा सरक्षा गुल्म गौरका प्रमुख एवं डिएसपी प्रेमसागर विष्टले स्पष्ट पारे ।