
श्रोत नखुलेको पाँच लाख भन्दा बढि रुपैया सहित दुई जना सशस्त्र प्रहरीको नियन्त्रणमा
रौतहट, ४ वैशाख । सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा सक्रियता बढाएपछि श्रोत खुल्न नसकेको नेपाली रुपैया सहित दुई जनालाई नियन्त्रणमा लिन सफल भएका छन् ।
रौतहटको राजदेवी नगरपालिका–८ सोफियामाई नजिकको सीमाक्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत विओपी बेलविछवाबाट खटिका टोलीले सीमा स्तम्भ नम्बर ३४३÷२ नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०६ ए ६२९२ नम्बरको भारतीय मोटरसाइकलमा सवार व्यक्तिको शरिर खानतलासी गर्दा नगद रकम बरामद भएको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म गौरले जनाएका हुन् ।
मोटरसाइकलमा सवार भारतको सितामढी जिल्लाका ४५ बर्षीय नजिर नटको साथबाट ३ लाख २२ हजार नेपाली रुपैया र पछाडी सवार सर्लाही जिल्ला घर भएका ५५ वर्षीय मुम्ताज अंसारीको शरीरबाट २ लाख ४९० रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म गौरका प्रमुख एवं डिएसपी प्रेमसागर विष्टले जानकारी दिए ।
दुबै जनाको शरीरबाट बरामद भएको ५ लाख २२ हजार ४९० रुपैयाको कहाँबाट के प्रयोजनको लागि ल्याएको हो भन्ने बारे श्रोत खुलाउन नसकेपछि आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयको जिम्मा लगाइएको डिएसपी विष्टले बताए ।
सीमाक्षेत्रमा भईरहेको अवैध कारोबार नियन्त्रणका लागि सशस्त्र प्रहरी अहिले सुक्ष्म निगरानी बढाएका छन् ।