मधेशमा गुटखा आतंक विरुद्ध राष्ट्रिय एकता दल एक्सनमा, पूर्ण प्रतिबन्धको मागसहित मधेश सरकार समक्ष ज्ञापनपत्र

जनकपुरधाम, ४ वैशाख । मधेश प्रदेशमा गुटखा (पानपराग लगायत) को उत्पादन, बिक्री तथा प्रयोगमाथि पूर्ण प्रतिबन्धको माग गर्दै राष्ट्रिय एकता दलले प्रदेश सरकार समक्ष ज्ञापनपत्र पेश बुझाएका छन् ।
दलका प्रदेश इन्चार्ज मनीष पुर्बेले मुख्यमन्त्रीलाई सम्बोधन गर्दै बुझाएको उक्त ज्ञापनपत्रमा मधेशमा गुटखाको सेवनबाट नागरिकहरुको अवस्था दिनानुदिन भयावह बन्दै गएको उल्लेख गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
विभिन्न ब्रान्डका गुटखाको उत्पादन, बिक्री तथा उपभोग अत्यधिक रूपमा बढ्दै जाँदा नागरिकको जनस्वास्थ्य माथि गम्भीर असर परेको दाबी गरिएको छ ।
ज्ञापनपत्रमा विशेषगरी युवावर्ग गुटखाको लतमा फस्दै गएको र यसका कारण मुख, घाँटी लगायत विभिन्न अंगमा क्यान्सर जस्ता घातक रोगको जोखिम बढेको औंल्याइएको छ । यसले हजारौं परिवार आर्थिक, सामाजिक तथा मानसिक समस्यामा परेका छन् भने प्रदेशको मानव स्रोत र उत्पादकत्वमा समेत नकारात्मक असर परेको उल्लेख गरिएको छ ।
दलले मधेश सरकार समक्ष पाँच बुँदे माग अघि सारेको छ—गुटखाको उत्पादन, आयात, बिक्री तथा वितरणमा पूर्ण प्रतिबन्ध, अवैध आयात नियन्त्रणका लागि कडा अनुगमन, जनचेतनामूलक अभियान सञ्चालन, प्रभावित बिरामीका लागि सहुलियत उपचार तथा बीमा व्यवस्था, र तत्काल प्रतिबन्ध सम्भव नभए कडा कर तथा नियमन लागु गर्ने उल्लेख गरिएको हो ।
मधेशमा बसोबास गर्ने नागरिकहरुका जनस्वास्थ्यको सवालमा प्रदेश सरकार गम्भीर बन्ने विश्वास व्यक्त गर्दै छिटो र प्रभावकारी निर्णय लिन आग्रह गरेको छ । मधेश सरकार समक्ष केही साता अघि मधेशमा गुट्खा समस्या माथि गम्भीर बन्न ज्ञापन पत्र बुझाएका थिए ।