भारतीय नम्वरको एम्बुलेन्सबाट १४८ किलो गाँजा सुनसरी प्रहरीद्वारा नियन्त्रणमा

सुनसरी, २३ वैशाख । बिरामी बोकेर जीवन बचाउनमा प्रयोग हुने एम्बुलेन्समै गाँजा तस्करी गरिएको सनसनीपूर्ण घटना सुनसरी प्रहरीले सार्वजनिक गरेको छ ।
सुनसरीको बराहक्षेत्रबाट प्रहरीले १४८ किलो गाँजा सहित भारतीय नम्बर प्लेटको एम्बुलेन्स नियन्त्रणमा लिएर उक्त गैरमानविय कार्यको पर्दाफास गरेको हो ।
मंगलबार बराहक्षेत्र नगरपालिका–२ पुल्ठेगौंडामा चेकजाँचका क्रममा बीआर ०७ पीसी ४७६५ नम्बरको एम्बुलेन्स भित्र प्लास्टिकका बोरामा लुकाएर राखिएको अवस्थामा ठूलो परिमाणमा गाँजा फेला परेको सुनसरी प्रहरीले जनाए ।
सूचना अधिकारी एवं डीएसपी चन्द्रबहादुर खड्काका अनुसार एम्बुलेन्स चालक भारत, बिहार राज्य सुपोल जिल्ला वीरपुरका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र सोही स्थानका २१ वर्षीय मोहमद सदामलाई नियन्त्रणमा लिएको छ ।
एम्बुलेन्स प्रयोग गरी गाँजा भारततर्फ तस्करी गर्न लागिएको आशंका गरिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाए । यस प्रकारको घटनाले तस्करहरू सुरक्षाकर्मीको आँखा छल्न एम्बुलेन्स जस्तो संवेदनशील सवारीसमेत प्रयोग गर्न थालेपछि सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ ।