
क्यासिनोमा प्रहरीको छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
भैरहवा, २३ वैशाख । रुपन्देहीको भैरहवा स्थित रोयल कालिङ्गा क्यासिनोमा प्रहरीले छापा मारेर म्यानेजर सहित १९ जना नेपाली पक्राउ गरेका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको गौतमबुद्ध इन्टरनेसनल होटल भित्र सञ्चालनमा रहेको उक्त क्यासिनोमा नेपालीहरू अवैध रूपमा जुवा खेलिरहेको सूचनाका आधारमा छापा मारेर १९ जनालाई नियन्त्रणमा लिएको रुपन्देही प्रहरीले जनाएका हुन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका–१० मा स्थित उक्त क्यासिनोमा मंगलबार राति छापा मार्दा जुवा खेलाउने ४ जना र खेल्ने १५ जनालाई नियन्त्रणमा लिए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डिएसपी कृष्णकुमार चन्दले पक्राउ परेकाहरूको साथबाट ९५ हजार ५ सय रुपैयाँ नगद, १७ थान मोबाइल र २ सय थान क्यासिनो क्वाइन बरामद बताए ।
१५ जना रुपन्देहीका रहेका छन् भने अन्य काठमाडौँ, ललितपुर, गुल्मी र पर्साका एक–एक जना रहेको तथा उनीहरूविरुद्ध अनुसन्धान जारी रहेको डिएसपी चन्द भने ।