
घरदैलोमै पासपोर्ट वितरणको शुभारम्भ , जिल्ला प्रशासन कार्यालयमा धाउनु पर्दैन
फोटो क्याप्सनः गौर नगरपालिका २ महादेवपटीमा प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसालले बुधवार नागरिकको घरदैलोमा गएर पासपोर्ट हस्तान्तरण गर्दै
रौतहट, २० जेठ — नागरिक सेवामा नयाँ आयाम थप्दै जिल्ला प्रशासन कार्यालय रौतहटले नागरिकको घरदैलोमै पुगेर पासपोर्ट हस्तान्तरण गर्ने अभियानको औपचारिक शुभारम्भ गरेको छ ।
नेपाल सरकारको नीतिअनुसार हुलाक कार्यालय सँगको समन्वयमा बुधबार देखि यो सेवा सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला हुलाक कार्यालय बीच गत वैशाख २४ गते भएको सम्झौता पछि प्राप्त पहिलो चरणका २१ वटा पासपोर्ट सम्बन्धित सेवाग्राहीको घरमै पुगेर हस्तान्तरण अभियान सुरु गरिएको छ ।
गौर नगरपालिका–२ महादेवपट्टी स्थित सेवाग्राहीको निवासमा पुगेर प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, जिल्ला हुलाक कार्यालय प्रमुख देवनाथ यादव सहितका राष्ट्रसेवक कर्मचारीहरूले पासपोर्ट वितरण गरेका हुन् ।
नेपाल सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको नागरिकमैत्री सेवाअन्तर्गत अब पासपोर्टका लागि आवेदन दिने क्रममा सेवाग्राहीलाई पासपोर्ट घरमै बुझ्ने वा कार्यालयबाट लिन आउने विकल्प प्रदान गरिनेछ । घरमै पासपोर्ट प्राप्त गर्न चाहने सेवाग्राहीले हुलाक शुल्क स्वरूप ५५ रुपैयाँ बराबरको टिकट खर्च व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ ।
जिल्ला हुलाक कार्यालय प्रमुख देवनाथ यादवका अनुसार पुराना तथा वितरण हुन बाँकी रहेका पासपोर्टहरू समेत सम्बन्धित स्थानीय तहसँग समन्वय गरी हुलाक मार्फत नागरिकको घरमै पुर्याउने तयारी भइरहेको बताए ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले नागरिक सेवालाई नागरिकको अधिकारका रूपमा स्थापित गर्ने सरकारको लक्ष्यअनुसार रौतहटमा घरघरमै पासपोर्ट पुर्याउने अभियान सुरु गरिएको बताए । “यस अभियानले नागरिकलाई सहज, छरितो र झन्झटरहित सेवा प्रदान गर्नुका साथै नागरिक अधिकारको प्रत्याभूति दिलाउन महत्वपूर्ण भूमिका खेल्नेछ,” उनले बताए ।
यस अभियानसँगै पासपोर्ट लिन प्रशासन कार्यालय सम्म धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ भने नागरिकहरूले आफ्नै घरमा सरकारी सेवा प्राप्त गर्ने नयाँ अनुभव हासिल गर्ने भएका छन् ।
प्रजिअ भुसालले गौर नपा २ महादेवपटीका राजु राम रोजगारीको शिलशिलामा गुजरातमा रहदा निजको आमालाई तथा विकास पासवान पनि घरमा नरहदा निजको श्रीमतीलाई पासपोर्ट हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाए ।