क्यान्सर पीडित वरै जीवन–मृत्युको दोसाँधमा, २० महिना देखि तलब नपाउँदा कर्मचारीहरु आन्दोलित

रौतहट, २० जेठ । रौतहटको कटहरिया नगरपालिका–२ हथियाहीका कार्यालय सहयोगी श्रीराउत बरै यतिबेला क्यान्सर रोगसँग जीवन–मृत्युको दोसाँधमा संघर्ष गरिरहेका छन् ।
भरतपुरस्थित क्यान्सर अस्पतालमा डेढ महिनादेखि उपचाररत बरै उपचार खर्च जुटाउन नसक्दा थप पीडामा परेका हुन् । अझ विडम्बना के छ भने, उनले नगरपालिकाबाट पाउनुपर्ने करिब २० महिनाको तलब समेत हालसम्म प्राप्त गर्न नसक्दा उनी अहिले जिवन–मृत्युको दोसाँधमा संघर्ष गरिरहेका हुन् ।
परिवारका अनुसार बरैको स्वास्थ्य अवस्था जटिल रहेकाले निरन्तर उपचार, औषधोपचार तथा नियमित स्वास्थ्य निगरानी आवश्यक छ । तर बढ्दो उपचार खर्चले परिवारलाई आर्थिक रूपमा थला पारेको छ । आर्थिक अभावकै कारण उपचार प्रक्रियामा समेत चुनौती थपिएको बताइएको छ ।
समाजसेवी विनोदलाल कर्णका अनुसार नगरपालिकाले लामो समय देखि बरैको पारिश्रमिक भुक्तानी नगर्दा परिवारको आर्थिक अवस्था कमजोर बनेको थियो । क्यान्सर रोग लागेपछि स्थिति झन् भयावह बनेको उनको भनाइ छ ।
“एकातिर बरै क्यान्सरसँग जुधिरहेका छन्, अर्कोतिर आर्थिक अभावले परिवारलाई थप पीडा दिएको छ,” कर्णले भने, “उपचार, औषधि, अस्पतालमा कुरुवा बस्ने तथा आवतजावतको खर्च जुटाउन परिवारलाई निकै कठिन भइरहेको छ ।”
हाल बरैको उपचार तथा हेरचाहको जिम्मेवारी उनका ज्वाइँ महेन्द्र प्रसाद चौरसियाले सम्हालिरहेका छन् । तर लामो उपचार र निरन्तर बढ्दो खर्चका कारण परिवार आर्थिक संकटको चपेटामा परेको छ ।
तलब नपाएपछि कर्मचारी आन्दोलनमा
कटहरिया नगरपालिकामा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरू पनि लामो समयदेखि तलब नपाएको भन्दै आन्दोलनमा उत्रिन बाध्य भईरहेका छन् ।
गत जेठ ११ गतेदेखि सुरु भएको आन्दोलनलाई कर्मचारीहरूले सुरुमा प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पन्तको कार्यकक्ष बाहेक अन्य सबै कक्षमा तालाबन्दी गरेका थिए । माग सम्बोधन तर्फ कुनै पहल नभएको भन्दै उनीहरूले सोमबार प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा समेत तालाबन्दी गरेका छन् ।
आन्दोलनरत कर्मचारी मुकुन्द यादवले तलब नपाउँदा कर्मचारीहरू आर्थिक र मानसिक तनावमा परेको बताए । कर्मचारी रामानन्द पासवानले पटक–पटक आवाज उठाउँदा पनि नगरपालिकाले एक–दुई महिनाको तलब मात्रै उपलब्ध गराएर समस्या टार्ने काम गरेको आरोप लगाए ।
उनले क्यान्सरपीडित श्रीराउत बरै आर्थिक अभावकै कारण अस्पतालबाट डिस्चार्ज हुन नसकेको उल्लेख गर्दै नगरप्रमुख अजय प्रकाश जयसवाललाई कर्मचारीहरूको बाँकी तलब तत्काल भुक्तानी गर्न आग्रह गरे ।
सहयोगका लागि अपिल
आन्दोलनका कारण नगरपालिकाको दैनिक प्रशासनिक सेवा प्रभावित बनेको छ । आन्दोलनरत कर्मचारीहरूले आफ्ना माग पूरा नभएसम्म संघर्ष जारी राख्ने चेतावनी दिए ।
यसैबीच कटहरिया नगरपालिका–४ का वडा अध्यक्ष चन्दन कुशवाहाले क्यान्सर पीडित कर्मचारी श्रीराउत बरैको उपचारका लागि नगरपालिका परिवार, जनप्रतिनिधि तथा सहयोगी मन भएका सबैलाई आर्थिक सहयोग गर्न हार्दिक अपिल गरेका छन् ।