
धानको बीउसहित भारतीय बाइक जेनजी समुहको नियन्त्रणमा, कारवाहीको लागि प्रहरीको जिम्मा
रौतहट, २७ जेठ । रौतहटको देवाही गोनाही नगरपालिका क्षेत्रमा सीमापारीबाट अवैध रूपमा भित्रयाइएका धानको बीउ सहित एक भारतीय मोटरसाइकल स्थानीय जेनजी युवाहरूले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।
कटहरिया नगरपालिकाको जेनजी युवा समूहले तस्करीको माध्यमबाट नेपाल भित्रयाइएको ६ बोरा धानको बीउ बोकेको भारतीय नम्बर प्लेटका प्लाटिना मोटरसाइकललाई देवाही गोनाही नगरपालिका–स्थित कर्कच गाउँबाट नियन्त्रणमा लिएको बुझिएका हुन् ।
कटहरिया नगरपालिका–५ निवासी जेनजी युवा सुनिल यादवको नेतृत्वमा रहेको समूहले शंकास्पद गतिविधि देखेपछि मोटरसाइकललाई नियन्त्रणमा लिए । घटनाका क्रममा बीउ बोकेर ल्याउने भरिया भने फरार भएको बताइएको छ ।
नियन्त्रणमा लिइएको मोटरसाइकल र बरामद गरिएको धानको बीउ आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कटहरियाको जिम्मा लगाइएको जेनजी युवा समूहले जनाए ।
इलाका प्रहरी कार्यालय कटहरियाका एक स्रोतका अनुसार बरामद सामग्री तथा मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ । तस्करी नियन्त्रणमा स्थानीय युवाको सक्रियता प्रशंसनीय रहेको तथा सीमावर्ती क्षेत्रमा यस्ता अवैध गतिविधि विरुद्ध समुदायको सहयोग महत्वपूर्ण हुने उल्लेख गरेको छ ।