नेपाली भुमि प्रयोग गरेर अनुमती बिनानै भारत प्रवेश गर्ने दुई विदेशी नागरिक रक्सौलमा पक्राउ

रौतहट, २७ जेठ । नेपाली भुमि प्रयोग गरेर भारत प्रवेश गर्न लागिएका दुई जना विदेशी नागरिकलाई सीमा क्षेत्रमा खटिएका भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका छन् ।
नेपाल–भारत सीमास्थित रक्सौलको मितेरी पुलबाट भारत प्रवेश गर्न अनुमति नहुँदा पनि भारत प्रवेश गर्न खोजेका दुई विदेशी नागरिक भारतीय सुरक्षाकर्मीले पक्राउ गरेर अनुसन्धान कार्यलाई तिव्र बनाएका हुन् ।
खुला सीमाको दुरुपयोग हुन नदिन सुरक्षा निगरानी कडा बनाइएका बेला भएको यो घटनाले सीमा क्षेत्रको सुरक्षा प्रति सम्बध निकायको पुनः एकपटक ध्यानाकर्षण गराएको छ ।
सुरक्षा जाँचका क्रममा म्यानमारका आङ निङ ल्याट र स्विट्जरल्यान्डकी जुनिला बेक श्रेष्ठ्रा रहेको भारतीय सुरक्षा अधिकारीलाई उढृत गर्दै भारतीय संचारमाध्यमहरुले जनाए । उनीहरू वैध भिसा तथा आवश्यक यात्रा कागजात बिनानै भारत प्रवेश गर्न खोजिरहेको अवस्थामा हरैया थाना क्षेत्र अन्तर्गत रहेको मितेरी पुलमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।
प्रारम्भिक सोधपुछ पछि हरैया थाना प्रहरीले दुवै विदेशी नागरिकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ । हरैया थानाका प्रमुख कृष्ण पासवानले पक्राउ परेका दुवैलाई आवश्यक कानुनी कारवाहीका लागि पूर्वी चम्पारणको जिल्ला अदालत मोतिहारी पठाइएको मिडिया रिपोर्टमा उल्लेख रहेको छ ।
सुरक्षा निकायहरूले उनीहरू किन र कुन उद्देश्यबाट भारत प्रवेश गर्न खोजिरहेका थिए भन्ने विषयमा गहन अनुसन्धान भईरहेको छ । प्रहरीका अनुसार आङ निङ ल्याट म्यानमारको याङ्गुन स्थित मायाङ्गोन क्षेत्रका बासिन्दा हुन् भने जुनिला बेक श्रेष्ठ्राको स्थायी बसोबास स्विट्जरल्यान्डको लाउफेनवर्गमा रहेको बुझिएको छ ।
भारत–नेपाल खुला सीमाबाट विदेशी नागरिकहरूको आवागमन हुने भएकाले सुरक्षा निकायले विशेष निगरानी कायम राख्दै आएको छ । पछिल्लो घटनाले सीमा क्षेत्रमा कागजात परीक्षण र सुरक्षा जाँचलाई अझ प्रभावकारी बनाउने आवश्यकता औंल्याएको सुरक्षा अधिकारीहरूको भनाइ छ ।