
१२ करोडको सुन–चाँदी चोरी गरेर नेपाल भाग्दै गरेका तीन नेपाली भारत उत्तरप्रदेशको रामपुरबाट पक्राउ
रौतहट, २७ जेठ । भारतको तेलंगाना राज्यमा करिब १२ करोड भारतीय रुपैयाँ बराबरको सुन–चाँदी र नगद चोरी गरेर नेपालतर्फ फरार हुने प्रयासमा रहेका तीन नेपाली नागरिक उत्तर प्रदेशको रामपुर जिल्लामा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा एक दम्पती र उनकी सालि रहेको भारतीय सुरक्षा अधिकारीलाई उढृत गर्दैैै भारतीय संचारमाध्यमले प्रमुखताका साथ समाचार प्रकाशित गरेका हुन् ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट ७ किलो सुन, १ किलो चाँदी तथा करिब २५ हजार भारतीय रुपैयाँ नगद बरामद गरिएको छ । बरामद गरिएका सामग्रीहरू तेलंगानाको साइबराबाद कमिश्नरेट अन्तर्गत गाचीबाउली क्षेत्रस्थित एक सम्पन्न परिवारको घरबाट चोरी गरिएको गम्भीर आरोप छ ।
विश्वास जितेर घरभित्रै ठूलो चोरी
अनुसन्धानका क्रममा पक्राउ परेका कमल, उनकी पत्नी विमला र सालि कल्पना सोही घरमा कामदारका रूपमा कार्यरत रहेको खुलेको छ । सुरुआती दिनमा उनीहरूले घरधनी परिवारको विश्वास जित्न सफल भएका थिए । तर समयक्रममा उनीहरूले घरको सुरक्षा व्यवस्था, दैनिक गतिविधि तथा मूल्यवान सामग्री राखिएको स्थानबारे विस्तृत जानकारी संकलन गरेको प्रहरीको दाबी छ ।
घटनाको दिन घरधनी परिवार बाहिर गएको मौका पारेर उनीहरूले घरभित्र रहेको ठूलो परिमाणको सुन–चाँदी तथा नगद चोरी गरी फरार भएको आरोप लगाइएको छ ।
नेपाल भाग्ने क्रममा पक्राउ
चोरीपछि तीनै जना नेपालतर्फ भाग्दै गरेको अवस्थामा रामपुर प्रहरीले विशेष चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको मिडिया रिपोर्टमा उल्लेख छ । पक्राउ पछि गरिएको खानतलासीमा चोरी गरिएको भनिएको अधिकांश सामान बरामद भएको भारतीय प्रहरीले जनाए ।
दुई राज्यको संयुक्त अपरेशन
तेलंगानाको गाचीबाउली क्षेत्रमा दर्ता भएको चोरी मुद्दाका आधारमा तेलंगाना र उत्तर प्रदेश प्रहरीले संयुक्त रूपमा अनुसन्धान अघि बढाएका थिए । सोही अपरेशन अन्तर्गत फरार अभियुक्तहरूलाई रामपुरमा पक्राउ गर्न सफलता मिलेको बताइएको छ ।
रामपुरका प्रहरी प्रमुख सोमेंद्र मीणाले घटनामा अन्य व्यक्तिको समेत संलग्नता हुनसक्ने आशंकामा थप अनुसन्धान जारी रहेको मिडिया रिपोर्टमा उल्लेख छ । साथै पक्राउ परेकाहरूको आपराधिक पृष्ठभूमिबारे जानकारी लिन नेपाल प्रहरीसँग समेत समन्वय गरिने भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूको थर तथा नेपालको ठेगाना भने सार्वजनिक गरेको छैन । घटनाले भारतमा कामदारको रूपमा कार्यरत विदेशी नागरिकमाथिको निगरानी र सुरक्षा जाँचबारे पुनः बहस सुरु गराएको छ ।