
विभेदकारी सञ्चार नीतिविरुद्ध नेपाल पत्रकार महासंघ रौतहटद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना प्रदर्शन
रौतहट, २७ जेठ । सञ्चार क्षेत्रलाई कमजोर बनाउने उद्देश्यले नेपाल सरकारले विभेदकारी नीति ल्याएको आरोप लगाउँदै नेपाल पत्रकार महासंघ रौतहट शाखाले बुधवार जिल्ला प्रशासन कार्यालय रौतहटमा धर्ना प्रदर्शन गरेका छन् ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाकी उपाध्यक्ष विना श्रीवास्तवको नेतृत्वमा आयोजित धर्ना कार्यक्रममा महासंघका सह–सचिव दिनेश यादव, जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरूका साथै महासंघमा आबद्ध नरहेका पत्रकारहरूको समेत उल्लेखनीय सहभागिता रहेका हुन् ।
धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै सहभागी पत्रकार तथा सञ्चारकर्मीहरूले सरकारले ल्याएको पछिल्लो नीति तथा कार्यक्रमले स्वतन्त्र पत्रकारिता र सञ्चार क्षेत्रको अस्तित्व माथि नै चुनौती सिर्जना गरेको आरोप लगाए । उनीहरूले यस्ता विभेदकारी र सञ्चारमाध्यम विरोधी नीतिहरू तत्काल खारेज गर्न सरकारसँग माग गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य शैलेन्द्र झा लगायतका उपस्थित वक्ताहरूले लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भका रूपमा रहेको सञ्चार क्षेत्रलाई कमजोर बनाउने कुनै पनि नीति स्वीकार्य नहुने स्पष्ट पारे । उनीहरूले सञ्चारमाध्यमलाई आर्थिक, व्यावसायिक तथा संस्थागत रूपमा सशक्त बनाउने कार्यक्रम तथा नीतिहरू ल्याउन सरकारसँग जोडदार माग गरे ।
प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको सूचनाको अधिकार सुनिश्चित गर्न सञ्चारमैत्री वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै सञ्चार क्षेत्रलाई धराशायी बनाउने प्रयास भए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्न महासंघ बाध्य हुने चेतावनी समेत दिए ।
धर्ना कार्यक्रम मार्फत पत्रकारहरूले सञ्चार क्षेत्रको संरक्षण, प्रवद्र्धन र विकासका लागि व्यावहारिक तथा पत्रकारमैत्री नीति अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराए ।