
प्रभातकुमार झा
रौतहट, १४ साउन । सुनसरीबाट सुरु भएको दुई समुदाय बीचको झड्प पश्चात राज्य जिम्मेवार भएर अघि बढ्न नसक्दा सुनसरीको आगो यतिखेर सिंगो मधेशभरी सल्किन थालेका छन् ।
यसैक्रममा विहिवार सिरहाको औरही गाउँपालिकाको १५ बर्षीय गणेश यादव सुरक्षाकर्मीको गोलीको निशाना बन्न पुगेर जीवन गुमाएका हुन् ।
जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले घटनाको पुष्टि गर्दै घटनास्थल क्षेत्रमा व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको तथा त्यस सम्बन्धि जानकारी आएपछि सार्वजनिक गर्ने बुझिएको छ ।
सिरहाको गोलबजार, लहान सहितका क्षेत्रमा कर्फयु लगाएपनि स्थानीय बासिन्दाहरु प्रदर्शनमा ओर्लिएको बताइएको छ । सुरक्षाकर्मीहरु घना बस्तीमा प्रवेश गरेर हवाई फयार तथा गोली चलाउने कार्य भईरहदा आम मानिसको जनजीवन नराम्ररी प्रभावित भइरहेको छ ।
यसैगरी जनकपुरधाममा पनि तीन जना बालकलाई निर्ममतापूर्वक कुटपिट गरेको घटना सार्वजनिक भएपछि स्थानीय प्रशासनले जनकपुरमा पनि कर्फयु आदेश जारी गरेको छ ।
सुनसरी घटनालाई राम्रो संग राज्य संयन्त्रले सम्बोधन वा हैण्डल गर्न नसक्दा विस्तारै उक्त रोग सर्दै सिंगो मधेशमा सल्किदै गएको अवस्थामा राज्य सचेत भएर साम्प्रदायिकता भड्किनुबाट बेलैमा रोक्नु जरुरी छ नत्र भने परिणाम गम्भीर हुने छ, को सुरक्षित रहने कि नरहने अवस्था सृजना भईरहेका छन् ।
बाहिरबाट आएका अपराधिक तत्व र यसैमा आफनो राजनीतिक रोटी सेक्ने तत्वहरुको गठजोडलाई भत्काउन र मुलुकमा अमन चैयन कायम गराउन प्रधानमन्त्री बालेन शाह सरकार समक्ष ठूलो चुनौती आएको छ ।
स्मरण रहोस, हालै छिमेकी मुलुक भारतको नयाँ दिल्ली स्थित जन्तर मन्तरमा भएको युवा विद्यार्थीहरुको प्रदर्शनमा जाबो प्यालेट गन र लाठी चलाउन त्यत्रो हंगामा मचेको छ तर हाम्रो नेपालमा युवा विद्यार्थीको जीवनको कुनै मूल्य नै छैन, जतिखेर कुनै प्रदर्शन भए सिधै गोली हानेर जिवन लिला समाप्त पारिदिने देशका नागरिकहरु कसरी सुरक्षित रहला भने गम्भीर प्रश्न उठेको छ । जसको कसैले पनि समाधानको बाटो खोल्ने पक्षमा छैनन । सरकार आफनै तालमा मस्त छन् भने दुई समुदाय आपसमै धर्मको नाममा कुटपिट हानाहानमा व्यस्त रहदा यो मुलुकलाई इश्वरले नै बचाउन सकिन्छ अन्यथा यस्ता स्वार्थीहरुको कारण गणेश यादव, मेहता जस्ता दर्जनौ युवाहरु बेला बखतमा ज्यानको आहुति दिदै आएको छ ।